काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । असोज २९ गते बिहीबारदेखि उपलब्ध भएको यो कार्ड ग्राहकले बैंकको एनबैंक एपमार्फत प्राप्त गर्न र प्रयोग गर्न सक्नेछन् ।
नयाँ सेवासँगै ग्राहकले परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया र झन्झटिलो औपचारिकता पूरा नगरी मोबाइल एपबाटै कार्डका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार एनबैंक एपको होमपेजमा रहेको ‘अप्लाई नाउ’ विकल्पमार्फत योग्य ग्राहकले भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन तथा सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध यो कार्ड दैनिक डिजिटल कारोबारलाई सहज र सुरक्षित बनाउने उद्देश्यले ल्याइएको बैंकले जनाएको छ । कार्डमार्फत ग्राहकले फोनपे मर्चेन्ट क्यूआरबाट क्यूआरमा आधारित भुक्तानीसमेत गर्न सक्नेछन् । यसले फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा कारोबार गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
बैंकले आफ्नै तथ्यांकमा आधारित विश्लेषणात्मक प्रणालीमार्फत योग्य ग्राहक पहिचान गरी उनीहरूलाई पूर्वस्वीकृति प्रदान गरेको जनाएको छ । पूर्वस्वीकृत ग्राहकले एनबैंक एपको होमपेजमा स्वतः ‘अप्लाई नाउ’ विकल्प देख्नेछन् । उक्त विकल्पमार्फत कार्डका लागि आवेदन दिने प्रक्रिया अघि बढाउन सकिनेछ ।
यस सेवाको सञ्चालनका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यो सहकार्यले डिजिटल भुक्तानी प्रणालीलाई थप विस्तार गर्नुका साथै ग्राहकलाई मोबाइल बैंकिङमार्फत क्रेडिट सुविधा उपयोग गर्न सहज बनाउने बैंकको विश्वास छ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंक नवप्रवर्तन र ग्राहककेन्द्रित बैंकिङ समाधान विकास गर्न प्रतिबद्ध रहेको बताए । उनका अनुसार भर्चुअल क्रेडिट कार्डको सुरुवात बैंकको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने रणनीतिक योजनाको एक हिस्सा हो । यसले ग्राहकका बदलिँदा आवश्यकता र अपेक्षाअनुसार आधुनिक वित्तीय सेवा उपलब्ध गराउने प्रयासलाई थप बल पुर्याउनेछ ।
ज्ञवालीले ग्राहकको सहजता बैंकको प्राथमिकता रहेको उल्लेख गर्दै डिजिटल युगको आवश्यकताअनुसार बैंक शाखामा पुग्नुपर्ने बाध्यता कम गर्ने दिशामा काम भइरहेको बताए । भर्चुअल क्रेडिट कार्ड पनि ग्राहकलाई मोबाइलबाटै बैंकिङ सुविधा उपलब्ध गराउने सोही प्रयासको महत्वपूर्ण हिस्सा भएको उनको भनाइ छ ।
नबिल बैंकले प्रविधिमा आधारित तथा ग्राहकमैत्री वित्तीय सेवा विस्तार गर्दै डिजिटल बैंकिङमा आफ्नो भूमिका थप सुदृढ बनाउने जनाएको छ । बैंकले आगामी दिनमा पनि ग्राहकको वित्तीय पहुँच, सुविधा र समग्र बैंकिङ अनुभव सुधार गर्ने उद्देश्यले नवीनतम डिजिटल सेवा विस्तार गर्दै लैजाने बताएको छ ।
बैंकका अनुसार देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको नबिल बैंकले २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल सेवाको विस्तारका लागि एनबैंक एप सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया