त्रिविको नतिजा एक महिनामा प्रकाशन गर्न निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै त्रिविका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलले परीक्षा र नतिजा समयमा नआएको गुनासो मन्त्रालयमा आउने गरेको बताए ।

उनले कुलपति एवं प्रधानमन्त्रीबाट पनि एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन भएको जानकारी दिए । शैक्षिक क्यालेन्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र विश्वविद्यालयका अधिकार विकेन्द्रीकरण गर्न पनि उनले आग्रह गरे ।

‘विकेन्द्रीकरण गर्न सकियो भने विश्वविद्यालय अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ,’ मन्त्री पोखरेलले भने ।

उनले देशका अन्य प्रदेशमा समेत त्रिविका दीक्षान्त समारोह आयोजना गर्नुपर्ने आवश्यकता औँल्याए । सरकार शिक्षा क्षेत्रको सुधारमा केन्द्रित रहेको बताउँदै उनले विश्वविद्यालय र विद्यालय शिक्षाको भूमिकालाई स्पष्ट रूपमा छुट्याउनुपर्ने धारणा राखे ।

‘शिक्षा सुधार गर्न लागेका छौँ । तर विश्वविद्यालय र विद्यालयको फरक छुट्याउन सकेका छैनौँ । विश्वविद्यालय थिङ्क ट्यांक हो,’ उनले भने, ‘शिक्षा ऐन निर्माण गरिरहेका छौँ । पाठ्यक्रम सुधारको काम भइरहेको छ र नयाँ शिक्षा नीति बनाउने क्रममा छौँ । यसमा विश्वविद्यालयको भूमिका अझ बढी हुनुपर्छ।’

मन्त्री पोखरेलले त्रिविका आंगिक क्याम्पसको पूर्वाधार विकास, विदेशी विद्यार्थी आकर्षित गर्ने योजना, पारदर्शिता र डिजिटल प्रणालीलाई प्राथमिकता दिन आग्रह गरे । उनले जीवनोपयोगी शिक्षा र अनुसन्धानमैत्री विश्वविद्यालय निर्माणमा समेत जोड दिए ।

यसअघि त्रिविको सभा कुलपति एवं प्रधानमन्त्रीको अध्यक्षतामा हुँदै आएको थियो । तर यसपटक कुलपति अनुपस्थित रहेकाले सहकुलपति पोखरेलले सभाको अध्यक्षता गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार