दशैँमा नयाँ नोट एटिएमबाट लिन सकिने

काठमाडौं । यसपालिको दसैं तथा चाडपर्वमा नयाँ नोट साट्न राष्ट्र बैंक धाउनुपर्ने बाध्यता कम हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोट वितरणबारे अनावश्यक प्रचार नगरी चाडपर्वका लागि राष्ट्र बैंक तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट पाउने व्यवस्था मिलाइएको बताए।

“पैसा साट्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो। यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,” उनले भने, “चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले दसैं मनाउन भनेर सूचना जारी गर्न पनि उपयुक्त देखिएन। हामीले यही ढंगले व्यवस्था गरेका हौँ।”

राष्ट्र बैंकका अनुसार असोज १ गतेदेखि थापाथलीस्थित राष्ट्र बैंक कार्यालय, राष्ट्र बैंकका प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने काम भइरहेको छ।

राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्व लक्षित गरेर ठूलो मात्रामा नयाँ नोट बजारमा पठाउने परिपाटीलाई क्रमशः घटाउँदै आएको छ। नयाँ नोटको सट्टा सुकिला र सफा नोटको प्रयोगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ।

प्रवक्ता पौडेलका अनुसार गत भदौ ३१ गतेसम्म चलनचल्तीमा रहेको मुद्रा अर्थात् ‘करेन्सी इन सर्कुलेसन’ ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। दसैंका बेला उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने राष्ट्र बैंकको अनुमान छ।

यसअनुसार दसैंका बेला बजारमा थप करिब ६३ अर्ब ५२ करोडदेखि ७९ अर्ब ४० करोड रुपैयाँसम्म मुद्रा चलनचल्तीमा आउन सक्ने देखिन्छ। राष्ट्र बैंकले नयाँ नोटभन्दा सुकिला र सफा नोटको प्रयोगलाई प्राथमिकता दिएकाले चाडपर्वका बेला नोट सटही तथा वितरणको व्यवस्थापन पनि सोहीअनुसार गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार