विराटनगर । पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रमा गैरहिन्दू प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
पशुपतिनाथ मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरूविरुद्ध कारबाही अघि बढाइएको हो । प्रेम विवाह गरेका प्रियंका र ओसीमले केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा पुगेर भिडिओ बनाएका थिए ।
उनीहरूले बनाएको भिडिओमा ओसीमले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ । सोही विषयलाई लिएर सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन् । सांसद ओलीले प्रश्न उठाएपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएको बताइएको छ ।
इटहरीस्थित घरमा रहेका उनीहरू दुवैलाई प्रहरीले आज पक्राउ गरेको हो ।
यसअघि अन्सारी दम्पतीले भिडिओमार्फत स्पष्टीकरण दिँदै आफूहरू पशुपतिनाथ मन्दिरको मुख्य गर्भगृह क्षेत्रमा प्रवेश नगरेको बताएका थिए । उनीहरूका अनुसार मन्दिरको मूल ढोकाबाट भित्र प्रवेश गरेपछि भर्याङबाटै आफूहरूलाई फर्काइएको थियो ।
प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र रहेको र श्रीमान् ओसीमलाई पनि मन्दिर देखाउन आफू त्यहाँ गएको बताएकी थिइन् ।
ओसीम अन्सारी इटहरीमा व्यापार–व्यवसाय गर्दै आएका छन् । उनी इटहरी उपमहानगरपालिका–८ का स्थायी बासिन्दा हुन् ।




प्रतिक्रिया