के काम गर्छ, ट्रम्पले गरेको सुपर इन्टेलिजेन्स फोर्सले ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा अमेरिकी नेतृत्व कायम राख्ने उद्देश्यसहित नयाँ कार्यदल ‘सुपर इन्टेलिजेन्स फोर्स’ गठन गरेका छन् ।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत कार्यदल गठनको घोषणा गरेका हुन् । कार्यदलको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जय क्लेटनले गर्नेछन् ।

कार्यदलले एआई प्रविधिको विकासमा अमेरिकी अग्रता कायम राख्ने तथा उपभोक्ता, सार्वजनिक हित समूह, धार्मिक संगठन, महत्वपूर्ण पूर्वाधार प्रदायक र एआई कम्पनीबीच संघीय सरकारको समन्वय बढाउने काम गर्नेछ ।

कार्यदलमा संघीय व्यापार आयोगका अध्यक्ष एन्ड्रयु फर्गुसन, रक्षा उपमन्त्री एमिल माइकल र कर्मचारी व्यवस्थापन कार्यालयका निर्देशक स्कट कुपोर सहभागी हुनेछन् । कार्यदलले आफ्नो प्रतिवेदन राष्ट्रपति ट्रम्प र ह्वाइट हाउसकी चिफ अफ स्टाफ सुसी वाइल्सलाई बुझाउनेछ ।

ट्रम्पले यसअघि ‘आर्टिफिसियल’ शब्दले प्रविधिलाई ‘नक्कली’ भन्ने अर्थ दिने भन्दै एआईलाई ‘सुपर इन्टेलिजेन्स’ नाम दिनुपर्ने धारणा राखेका थिए ।

गत अगस्टमा राष्ट्रिय गुप्तचर निर्देशक बनेका क्लेटन यसअघि न्युयोर्कको दक्षिणी जिल्लाका सरकारी वकिल थिए । उनले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोविरुद्ध लागुऔषध तस्करीलगायत चर्चित मुद्दाको नेतृत्व गरेका थिए ।

एआईको नियमन, सुरक्षा र विकासलाई लिएर प्रविधि क्षेत्रबाट दबाब बढिरहेका बेला ट्रम्प प्रशासनले नयाँ कार्यदल गठन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार