काठमाडौं । बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा गरिने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशीघ्र किसानको खातामा रकम पठाउने तयारी गरिएको जनाएको हो ।
बिहीबार (असोज १५) प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीलाई उच्च प्राथमिकता दिइएको बताए । भुक्तानीमा भएको ढिलाइप्रति किसानको गुनासो जायज रहेको उनले उल्लेख गरे । प्रशासनिक र प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानीमा ढिलाइ हुन पुगेको उनले स्पष्ट पारे ।
“असारमै भुक्तानी गर्ने भनिए पनि केही प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भएको हो,” उनले भने, “अब भने किसानले पाउनुपर्ने रकम चाडपर्वअघि नै उपलब्ध गराउने गरी मन्त्रालयले काम अघि बढाएको छ ।”
उनले भुक्तानी प्रक्रियालाई सकेसम्म दसैँअघि नै सम्पन्न गर्ने प्रयास भइरहेको बताए । सबै आफूमा मात्र निर्भर नरहेकाले केही जटिलता रहेको उनले संकेत गरे ।
“किसानलाई भुक्तानी हुने विषयमा मन्त्रीस्तरबाटै निर्णय भइसकेको छ । भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी रकम पठाउने तयारी भइरहेको छ,” उनले भने, “दसैँअघि नै किसानले रकम पाउने गरी काम भइरहेको छ ।”
उखु किसानले लामो समयदेखि बक्यौता रकमका निम्ति पटक–पटक ताकेता गर्दै आएका छन् । मन्त्रालयले भुक्तानीका निम्ति यसअघि निर्णय गरिसकेको भए पनि कार्यान्वयन पक्षमा देखिएको सुस्तताका कारण किसान मारमा परेका हुन् ।
सचिव मिश्रले किसानलाई ढुक्क रहन आग्रह गर्दै मन्त्रालयले निरन्तर ‘फलोअप’ गरिरहेको जानकारी गराए । न्युज एजेन्सी नेपाल


प्रतिक्रिया