मल कारखाना स्थापनाका लागि चाँडै बोलपत्र आह्वान हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा सरकार अघि बढिरहेको बताएका छन्। उनले कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।

बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएको सहभागी रास्वपा सांसद डा. राम लामाले बताए। उनका अनुसार प्रधानमन्त्री शाहले भनेका थिए, ‘मल कारखाना खोल्नका लागि सरकारले चाँडै नै प्रस्ताव आह्वान गर्नेछ।’

छलफलका क्रममा रासायनिक मल कारखाना स्थापनासँगै विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई सरकारले आवश्यक सहुलियत दिने विषयमा पनि प्रधानमन्त्री शाहले जानकारी गराएका थिए।

वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेको छ। त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुका साथै भन्सारसम्बन्धी व्यवस्थामा सुधार गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषय विगतदेखि नै चर्चामा रहे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। यसअघि विभिन्न सरकारले बजेटमै मल कारखाना स्थापनाका लागि रकम विनियोजन गरे पनि ठोस प्रगति हुन सकेको थिएन। प्रधानमन्त्री शाहले भने यसलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्।

बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको छलफलमा १७ जना सांसद सहभागी थिए। छलफलको सुरुवातमा सांसदहरूले बाढी–पहिरोपछि उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले संसदमा उठ्ने विषय, सांसदहरूको भूमिका तथा सरकारसँग सांसदहरूले गर्न सक्ने समन्वयबारे धारणा राखेका थिए। उनले औद्योगिकीकरणलाई अघि बढाउन सरकारले गर्नुपर्ने कामबारे ठोस सुझाव र योजना प्रस्तुत गर्न सांसदहरूलाई आग्रह गरेका थिए।

नयाँ योजना वा नीतिसम्बन्धी कुनै प्रस्ताव भए प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने बताउँदै शाहले त्यस्ता प्रस्ताव लिएर आउने सांसद तथा अन्य व्यक्तिसँग सहज रूपमा भेट गर्न आफू तयार रहेको बताएका थिए।

प्रधानमन्त्री शाहले विद्युत् उत्पादन बढाउनुका साथै त्यसको खपत बढाउने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी गराएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाह सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार