काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षले आयोजना गरेको पार्टीको १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्भावना नरहेको बताएका छन्।
सभापति गगन थापासहित कांग्रेसका केही शीर्ष नेताहरूले सहमतिको प्रयासस्वरूप देउवालाई महाधिवेशन उद्घाटनका लागि आमन्त्रण गर्ने प्रयास जारी राख्ने बताइरहेका बेला महतले यस्तो दाबी गरेका हुन्। कांग्रेसको महाधिवेशन यही १८ गते काठमाडौंमा उद्घाटन हुँदैछ।
पोखरा पुगेका महतले देउवा महाधिवेशन उद्घाटनमा सहभागी हुने भन्दै प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै त्यसलाई गलत सूचना भएको बताए।
उनले देउवा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएकाले १५औँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने विषयमा स्पष्ट रहेको दाबी गरे। साथै, भोलिदेखि सुरु हुने वडा अधिवेशन नै कांग्रेसको आधिकारिक अधिवेशन प्रक्रिया भएको उनको भनाइ थियो।
महतले १५औँ महाधिवेशन निष्पक्ष र पारदर्शी हुने सुनिश्चितताको माग गर्दा सभापति गगन थापाले त्यसलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए।
उनका अनुसार नेतृत्व चयनमा सबैको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग पूरा नभएपछि आफूहरू अदालत गएको हो।
महतले यसअघिको अदालतको फैसला त्रुटिपूर्ण रहेकै कारण सर्वोच्च अदालतले आफूहरूको पुनरावेदनसम्बन्धी निवेदनमा निस्सा दिएको दाबी गरे। आफूहरू सत्य र न्यायको पक्षमा उभिएको भन्दै उनले अदालतबाट न्याय पाउने विश्वाससमेत व्यक्त गरे।




प्रतिक्रिया