छुटे चोलेन्द्र,परिवारको जिम्मा लगाइयो

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

यसअघि अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाइएको बताएका थिए । तर, उक्त ‘सुरक्षित ठाउँ’ कहाँ हो भन्नेबारे उनले स्पष्ट जानकारी दिएका थिएनन् ।

अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शनिबार राति महाराजगञ्जस्थित जबराको निवासबाट उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउको कारणबारे सरकारले औपचारिक रूपमा स्पष्ट जानकारी सार्वजनिक गरेको छैन ।

एसएसपी खड्काले भने जबरालाई ‘सुरक्षा थ्रेट’ रहेकाले रातारात कार्यालयमा ल्याएर राख्नुपरेको बताएका छन् । जबराका भाइ प्रभुशम्शेरका अनुसार प्रहरीले ‘जेनजीहरूबाट थ्रेट रहेको’ भन्दै उनलाई पक्राउ गरेर लगेको जानकारी दिएको थियो ।

यसैबीच, जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न दिएको थिएन । करिब ४५ मिनेट गेटमा कुर्दासमेत भेट्न नदिएपछि आयोगको टोली फर्किएको थियो ।

जबराको पक्राउ गर्ने प्रहरीको शैलीप्रति कानुनका जानकारहरूले समेत प्रश्न उठाएका छन् । पक्राउको आधार, प्रक्रिया र उनलाई रातारात नियन्त्रणमा लिनुपर्ने परिस्थितिबारे थप विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार