प्रधानमन्त्रीसँग छलफल गरेर निस्किँदै गर्दा परे अध्यक्ष पक्राउ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँगको छलफल सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।

रसुवा बाढीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहले आज सिंहदरबारमा छलफल गरेका थिए । छलफलमा सहभागी तामाङ बाहिरिने क्रममा सिंहदरबारको गेटबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तामाङ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका हुन् । उक्त मुद्दा अदालतमा दायर भइसके पनि उनी अदालतमा उपस्थित नभएको काठमाडौंका प्रहरी प्रमुख एसपी दानबहादुर थापाले बताए ।

“बैंकिङ कसुर मुद्दा अदालतमा दायर भइसकेको थियो । अदालतमा जानुपर्नेमा उहाँ जानुभएको रहेनछ । हामीले अदालतमा उपस्थित गराउन पठाएका हौँ,” एसपी थापाले भने ।

नुवाकोटको किस्पाङ गाउँपालिका–३ घर भएका तामाङ काठमाडौं महानगरपालिका–१६, नयाँ बजारस्थित ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर प्रालिका प्रोप्राइटरसमेत हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार