एनसेलले बढायो निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि

काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् ।

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अन नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो र सोहीअनुसार सेवा दिदै आएको थियो । तीन दिने अवधि आज समाप्त हुँदैछ ।

विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका पहललाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । प्रभावित समुदायका सर्वसाधारणलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सजिलो बनाउँदै कम्पनीले उक्त निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ ।

“हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौँ । यस कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ताले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार