राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह गरेको छ ।
प्राधिकरणले बुधबार विज्ञप्ति जारी गर्दै केही व्यक्ति तथा समूहले बाढी प्रभावितको राहतका लागि भन्दै आर्थिक सहयोग सङ्कलन गर्न थालेको तथा नगद सहयोगका लागि क्यूआर कोड समेत सामाजिक सञ्जालमा सेयर गरिरहेको गुनासो प्राप्त भएको जनाएको छ ।
आज बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी किनारमा मानवीय तथा भौतिक क्षति भएको र प्रभावित तथा अलपत्र परेकाहरूको खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विपद्को यस घडीमा राहतका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न आग्रह गर्दै नेपाल सरकारले आह्वान गरेबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक सहयोग नगर्नसमेत अनुरोध गरेको छ ।
बाढी प्रभावितका नाममा अनधिकृत रूपमा आर्थिक सहयोग सङ्कलन भइरहेको जानकारी पाएमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ०१–४२१११९७ मा सूचना दिन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणकी प्रवक्ता उपसचिव शान्ति महतले जारी गरेको विज्ञप्तिमा उद्धार तथा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन आधिकारिक संयन्त्रमार्फत मात्र सहयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया