मूल विचार र रणनीतिबाट विचलित हुँदा कम्युनिस्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौंमा आयोजित ‘कम्युनिस्ट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूल विचार र रणनीतिबाट विचलित हुँदा कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताएका छन् ।

काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले पछिल्लो समय पार्टी सत्ता बनाउने र ढलाउने खेलमा केन्द्रित हुनु गम्भीर कमजोरी भएको बताए ।

उनले जनयुद्धका क्रममा सामन्तवाद अन्त्य गर्ने स्पष्ट रणनीति बनाएर त्यसअनुसार कार्यनीति तय गर्दा सफलता हासिल भएको स्मरण गरे । तर अहिले रणनीति र कार्यनीतिबीचको भेद नै बिर्सिँदा कम्युनिस्ट आन्दोलनले धक्का व्यहोरेको उनको भनाइ थियो ।

प्रचण्डले विगतका अनुभवको गम्भीर समीक्षा गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार कम्युनिस्टहरू कार्यनीतिक विषयमै अल्झिँदा विरोधीहरूले आन्दोलनलाई कसरी कमजोर बनाउने भन्ने रणनीति बनाउन थालेका छन् ।

कार्यक्रममा नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अघि बढेको आरोप लगाए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्रियता र नागरिकले पाएको लोकतान्त्रिक खुलापन गम्भीर संकटमा परेको दाबी गरे ।

ज्ञवालीले ठूलो जनादेशसहित बनेको सरकारले पाँच महिनामै अधिनायकवादी लक्षण देखाउन थालेको आरोप लगाउँदै सरकारको स्वेच्छाचारिता रोक्न संसदभित्र बलियो विकल्पको अभाव रहेको बताए । झन्डै दुईतिहाइको जनादेशका कारण सरकारले भविष्यमा संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

नेकपा नेतृ उमा भुजेलले भने गणतन्त्रका उपलब्धि जोगाउन विचार मिल्ने शक्तिहरूबीच एकता आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार