कैदीलाई भाग्न नदिन गोही प्रयोग

काठमाडौं । इजरायलकी वातावरण संरक्षणमन्त्री इदित सिलमानले गोहीलाई नयाँ वर्गमा वर्गीकरण गरेपछि भविष्यमा जेलको सुरक्षाजस्ता कार्यमा तिनलाई प्रयोग गर्ने बाटो खुलेको छ ।

संचारमाध्यमहरूको रिपोर्टका अनुसार इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–ग्विरले गत डिसेम्बरमा प्यालेस्टिनी कैदीहरूलाई राखिने जेल वरपर गोही तैनाथ गर्ने प्रस्ताव गरेका थिए ।

अमेरिकाको फ्लोरिडामा गैरकानुनी आप्रवासीलाई राखिने केन्द्र ‘एलिगेटर अल्काट्राज’बाट यो सोच प्रेरित भएको बताइएको छ ।

नयाँ वर्गीकरणअनुसार ‘नाइल’ प्रजातिका गोहीलाई अब ‘जंगली जनावर’को सट्टा ‘पालन गरिएका जंगली जनावर’ को श्रेणीमा राखिने बताइएको छ ।

यो परिवर्तनपछि इजरायली जेल सेवासहितका सरकारी सुरक्षा निकायले वातावरणीय सर्तहरू पालना गर्दै गोही राख्न सक्ने बताइएको छ ।

मन्त्री बेन–ग्विरले दक्षिण इजरायलस्थित ‘केत्सियोट’ जेलको सुरक्षामा गोही प्रयोग गर्न चाहेका छन् । बिहीबार उनले सामाजिक सञ्जालमा गोहीलाई साङ्लोले बाँधेर समातेको एआई निर्मित तस्बिर सेयर गर्दै लेखेका थिए, “के तपाईं भाग्ने सोचमा हुनुहुन्छ ? पुनः विचार गर्नुहोस् ।”

यद्यपि, इजरायल नेचर एन्ड पार्क्स अथोरिटीले भने यस प्रस्तावको विरोध गरेको छ । जंगली जनावरलाई अनुसन्धान तथा शैक्षिक प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने र विगतमा गोहीहरू उम्किएका घटनासमेत भएकाले यस्तो व्यवस्थाले जोखिम बढाउन सक्ने प्राधिकरणले चेतावनी दिएको छ ।

इजरायल प्रिजन सर्भिसका अधिकारीहरूले पनि यो प्रस्ताव व्यावहारिक नभएको भन्दै व्यङ्ग्य गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार