नेपाली कांग्रेसको अनुशासन समितिले पूर्वसभापति शेरबहादुर देउवालाई चुनदेवीमा सभापतिको हैसियतमा नेमप्लेट राखेर आसन ग्रहण गराइएकोप्रति आपत्ति जनाएको छ।
शुक्रबार सानेपामा बसेको समितिको बैठकपछि संयोजक तारामान गुरुङले देउवा समूहले पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए।
उनका अनुसार देउवा अहिले निवर्तमान सभापति भएकाले पार्टीको विधानअनुसार उनलाई सभापतिको हैसियतमा प्रस्तुत गर्न मिल्दैन। चुनदेवीमा सभापतिको नेमप्लेट राखेर उनलाई आसन ग्रहण गराउनुका साथै पार्टीको लेटरप्याडमा ‘सभापति’ उल्लेख गरी पत्राचार गरिएको भन्दै समितिले आपत्ति जनाएको हो।
गुरुङले देउवा समूहलाई आधिकारिक रूपमा पार्टीको लेटरप्याड प्रयोग गर्ने अधिकार नभएको दाबी गरे। साथै, सभापति लगायत पार्टीका नेता तथा कार्यकर्ताको प्रतिष्ठामा आँच आउने गरी आरोप–प्रत्यारोप र घोचपेच गर्ने गतिविधिप्रति पनि समितिले असन्तुष्टि जनाएको छ।
उनले देउवा समूहबाट भइरहेका गतिविधि, सार्वजनिक अभिव्यक्ति र प्रयोग गरिएका शब्दहरूलाई अनुशासन समितिले अभिलेखका लागि संकलन गरिरहेको जानकारी दिए। उनका अनुसार चुनदेवीदेखि सुकेधारासम्म भएका गतिविधिसँग सम्बन्धित कागजातसमेत समितिमा प्राप्त भएका छन् र त्यसको अध्ययन भइरहेको छ।
यसैबीच, कांग्रेसले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत तोकेर महाधिवेशन प्रक्रिया अघि बढाइसकेको समितिले जनाएको छ। महाधिवेशन सम्पन्न हुनुअघि देशभरबाट प्राप्त ७५४ वटा उजुरी टुंग्याउने गरी अनुशासन समितिले काम गरिरहेको गुरुङले बताए।


प्रतिक्रिया