काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सडक मार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन् । उनी पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको बुझिएको छ ।
प्रधानमन्त्री बालेन मुस्ताङ प्रस्थान गर्नुलाई निकै आन्तरिक र बाह्य दुवै किसिमले महत्वका दृष्टिले हेरिएको छ ।
लामो समयदेखि संसदमा अनुपस्थिति रहेका प्रधानमन्त्री बालेनलाई सभामुखले जनप्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि अब बालेनले के गर्लान् भनी कौतुहलताकै बीचमा उनी मुस्ताङतर्फ लागेका हुन् ।
साथै, उनी मुस्ताङ जानुलाई अमेरिकासँग जोडेर पनि विभिन्न आकलन गर्ने गरिएका छन् । यसअघि बालेनले मुस्ताङमा रहेको युरेनियम अमेरिकालाई दिन सम्झौता गरेको भन्ने अपुष्ट हल्लाहरु बाहिर आएका थिए ।
यीबाहेक अन्य थप विषय पनि हुन सक्छन् । जे होस् एक्कासी प्रधानमन्त्री बालेन मुस्ताङ प्रस्थान गर्नुलाई निकै महत्वका साथ हेरिएको छ ।
मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले आफूले पनि मिडियामार्फत जानकारी पाएको बताइन् ।
‘हिजोदेखि नै यो खबर आइरहेको छ कि प्रधानमन्त्री मुस्ताङ भ्रमणमा आउँदै हुनुहुन्छ,’ मुस्ताङकी सीडीओ शर्माले भनिन्, ‘तर, औपचारिक जानकारी, कार्यक्रम तालिका हामीलाई आइपुगेको छैन ।’
उनी सवार गाडी आज बिहान धादिङको पृथ्वी राजमार्ग खण्डमा केहीबेर रोकिएको थियो । त्यहाँबाट उनी पुन: पोखरातर्फ प्रस्थान गरेको धादिङ सुरक्षा स्रोतले बतायो ।
प्रधानमन्त्रीको यात्राको गन्तव्यबारे भने धादिङ प्रहरीले अनभिज्ञता प्रकट गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतले प्रधानमन्त्रीसहितको टोली केहीबेर पृृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा रोकिएको तर थप केही थाहा नभएको बताए ।


प्रतिक्रिया