प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हरेक शुक्रबार प्रेस ब्रिफिङ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अब नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । प्रधानमन्त्रीको प्रेस हेर्ने टिम र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अब हरेक हप्ताको शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ ।

सरकार बनेपछि पहिलोपटक प्रधानमन्त्रीको प्रेस टिम र कार्यालयका प्रवक्तासहितको कर्मचारी टिमले शुक्रबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी अब हरेक साताको शुक्रबार १ बजे नियमित प्रेस ब्रिफिङ हुने समय तोकेको हो ।

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई गेटबाट प्रवेशमै रोक लगाइएको थियो । यही कारण प्रधानमन्त्रीको शासकीय शैली र प्रेसप्रतिको दृष्टिकोणलाई लिएर आलोचना समेत हुँदै आएको थियो । तर, सय दिनका उपलब्धि सार्वजनिकपश्चात सूचना प्रवाहमा प्रभावकारिताको खोजीमा लागेको वालेन्द्र शाह सरकारले सबै मन्त्रालयलाई नियमित प्रेस ब्रिफिङ गरी आफूले गरेको काम र प्रगति सार्वजनिक गर्न निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयले यसअघिदेखि नै नियमित प्रेस ब्रिफिङ सुरु गरिसकेको छ । अब प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ दिपा दाहाल नेतृत्वको प्रेस टिम र कार्यालयका कर्मचारीतर्फ प्रवक्ता सहसचिव हेमराज अर्याल नेतृत्वको टिमले नियमित प्रेस ब्रिफिङ गर्न लागेको हो । घटना विशेषमा आवश्यक पर्दा आकस्मिक रूपमा पनि आमन्त्रण गर्ने प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दाहालले बताएकी छन् ।

प्रतिक्रिया