लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागू औषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।

झापाको कनकाई नगरपालिका २ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०२ ग्राम ३१० मिलिग्राम, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल सात हजार २०० ट्याब्लेट र नाइट्राभेट सात हजार ४५० ट्याब्लेटसहित भारतको विहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा ८ छिप्टिया टोलका २७ वर्षीय अझर अन्सारी र कुरसाकट्टा ७ तकियाटोलका २८ वर्षीय मोहम्मद एजवाललाई शनिबार पक्राउ गरिएको हो ।

यसैगरी, झापाको दमक नगरपालिका ५ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ५२० मिलिग्राम र नियन्त्रित लागू औषध ट्रामाडोल चार हजार ९६० ट्याब्लेटसहित सुनसरीको इटहरी उपमहानगर २० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका २ की २३ वर्षीया रोमी लिम्बू तथा झापाको दमक नगरपालिका ७ का २९ वर्षीय करण मल्लिक पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका १ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४३० मिलिग्रामसहित सोही ठाउँका २० वर्षीय क्रिस शर्मालाई पक्राउ गरिएको छ । यसैगरी, टीकापुर नगरपालिका ९ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ७९० मिलिग्रामसहित टीकापुर नगरपालिका ७ बेलुवाका ३० वर्षीय तेज बुढा पक्राउ परेका छन् ।

मोरङको लेटाङ नगरपालिका २ धोबीकी २७ वर्षीया प्रमिला लामालाई ट्रामाडोल १५० ट्याब्लेट र स्पास्पेन १५० ट्याब्लेटसहित पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका १० आदर्श टोलबाट ट्रामाडोल १९ ट्याब्लेट, डाइक्लोमाइन २८ ट्याब्लेट र नगद १३ हजार ७७५ सहित पथरीशनिश्चरे नगरपालिका १ सुन्दर बस्तीका २७ वर्षीय मिका खत्री र २७ वर्षीया कृष्टि भन्ने बन्दना माखिमलाई पक्राउ गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइलीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ७२० मिलिग्रामसहित सोही ठाउँका २४ वर्षीय रोहित घिसिङ, सोही नगरपालिका ४ जिरो ड्यामबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५०० मिलिग्रामसहित सोही ठाउँका २८ वर्षीय लोकेन्द्रबहादुर रावल तथा वीरेन्द्रनगर नगरपालिका २ भुरेली गाउँबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २१० मिलिग्रामसहित सोही ठाउँका ३१ वर्षीय चित्र थापालाई पक्राउ गरिएको छ ।

यसैगरी, दाङको घोराही उपमहानगर १३ सिजस्वर्ग टोलका १७ वर्षीय किशोरलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ पाँच ग्राम ११० मिलिग्राम, नगद ७४ हजार र एक थान डिजिटल तराजुसहित पक्राउ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार