सुकुम्बासी बस्ती खालि गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खालि गराउन निर्देशन दिएका छन् । गृहमन्त्री सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएपछि सो मन्त्रालय आफैँसँग राखेका प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएका छन् ।

आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने अभियान सुरु गर्न उनको निर्देशन छ ।

बैठकमा काठमाडौं उपत्यकाबाटै अभियान सुरु गरी क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने रणनीतिबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्तीहरू हटाउने निर्णय कार्यान्वयन गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ । यसका लागि आवश्यक समन्वय, जनशक्ति परिचालन र सम्भावित प्रतिरोध व्यवस्थापनका विषयमा समेत छलफल भएको जनाइएको छ ।

यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला स्थानीय बासिन्दाको कडा विरोध र तत्कालीन सरकारका असहयोगका कारण अभियान सफल हुन सकेको थिएन ।

अहिले भने संघीय सरकारको नेतृत्वमै पुगेपछि उनले सोही मुद्दालाई पुनः अघि बढाएका हुन् ।

प्रतिक्रिया