मुकुलले दिए रास्वपा महाधिवेशनलाई शुभकामना

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाकालका महामन्त्री मुकुल ढकाल रास्वपाको पहिलो महाधिवेशनमा उपस्थिति छैनन् ।

चितवनमा रास्वपाको महाधिवेशनमा रास्वपाले उनलाई नबोलाए पछि उनी सो समारोहमा अनुपस्थित भएका हुन् । आजभन्दा करिब ४ वर्षअघि पार्टी स्थापना हुँदा उनी महामन्त्रीका रुपमा थिए ।

चितवनमा रास्वपाको प्रथम महाधिवेशन सुरु हुँदै गर्दा ढकालले सामाजिक सञ्जालबाट समेत पार्टी स्थपापनाको समय स्मरण गरेका छन् ।

‘ठीक चार वर्षअघि आजकै दिन हामीले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थियौँ’ उनले लेखेका छन्, ‘पार्टी दर्ताका लागि आवश्यक ५०० वटा नागरिकता जुटाउनसमेत संघर्ष गर्नुपरेको त्यो अवस्थाबाट छोटो समयमै पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुगेको छ ।’

रास्वपा स्थापनाको संघर्षका दिनहरू इतिहासमा लेखिए वा लेखिएनन् त्यो आफूलाई थाहा नभएको भन्दै उनी थप्छन्, ‘ती दिनहरूमा प्रत्यक्ष बाँचेका हामी प्रत्येकको मानसपटलमा त्यो इतिहास सधैँ जीवन्त रहनेछ ।’

विगतका रास्वपाको समेत आलोचना गर्ने बालेन्द्र शाह (बालेन) रास्वपाकै तर्फबाट प्रधानमन्त्री बनेको पनि ढकालले स्मरण गरेका छन् । यहाँनेर उनले रास्वपाले महाधिवेशनमा उपस्थितिका लागि आफूलाई आमन्त्रण नगरेको पनि बताएका छन् ।

‘पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिँन’, उनी भन्छन्, ‘मेरो भौतिक शरीर आज चितवनमा छैन । भएको भए पनि करिब ४००० प्रतिनिधिहरूमध्ये एक जना प्रतिनिधि थपिन्थ्यो मात्र ।’

तर राजनीति गर्ने व्यक्तिका लागि शरीर कहाँ उपस्थित छ भन्नेभन्दा उसका विचार, मूल्य र सिद्धान्तले कति स्थान ओगटेका छन् भन्ने कुरा बढी महत्त्वपूर्ण हुने उनले बताएका छन् ।

‘महत्वपूर्ण कुरा म उपस्थित छु कि छैन भन्ने होइन । महत्वपूर्ण कुरा महाधिवेशनले के निर्णय गर्छ भन्ने हो’ उनी भन्छन्, ‘म आशा गर्दछु, यो महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रममा सीमित हुने छैन । को कुन पदमा जित्यो वा हार्यो भन्नेभन्दा ठूलो प्रश्न पार्टीले कुन दिशा रोज्छ भन्ने हो ।’

प्रतिक्रिया