रवि जेलबाट भागेको नख्खुका जेलर सत्यराम जोशीको बयान

ललितपुरस्थित कारागार कार्यालय नख्खुका जेलर सत्यराम जोशीले सहकारी ठगी मुद्दामा नौ महिनादेखि थुनिएका रवि भदौ २४ गते नख्खु कारागार तोडेर भागेको बयान दिएका छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको बयानमा उनले भदौ २३ गते बेलुकादेखि नै कारागारका कैदीहरूले नाराबाजी र हुलहुज्जत गर्न थालेको उल्लेख गरेका छन् ।

‘भदौ २३ गते बेलुका करिब ७ बजेतिर बाहिर ठूलो भीड आई आगजनी गर्ने ढुंगामुढा गर्ने कार्य गर्न थालेपछि भित्रसमेत कैदी र थुनुवाहरू नाराबाजी गर्न लागे । रवि लामिछाने बाहिर जान हुने हामी किन जान नहुने भन्दै आक्रोशित हुन लागे’, उनले बयानमा भनेका छन्, ‘जिल्ला प्रहरी कार्यालयमा समेत ठूलो समूहले आगजनी तोडफोड गर्ने कार्य गरिरहेको हुँदा थप सुरक्षाकर्मीसमेत आउन सक्ने अवस्था थिएन।’

जेलर जोशीले काठमाडौंको डिल्लीबजारसहितका जेलबाट कैदी थुनुवा भागेको भन्ने सूचना टेलिभिजन लगायतमा त्यसबेला फैलिएको बताएका छन् । ‘रवि लामिछाने जेल तोडेर भागेपछि अन्य जेलका कैदी थुनुवाहरू समेत भाग्न भगाउन थालियो’, उनले भनेका छन्, ‘६६७ जना कैदी-थुनुवा भागेका छन्। जसमध्ये ४०९ जना पुनः आइसकेका छन्। त्यस दिन कारागारमा ४५ लाख जति क्षति भएको छ।’

प्रतिक्रिया