काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहले भदौ २३ गतेको र्यालीप्रति आफ्नो नैतिक समर्थन रहे पनि आन्दोलनमा प्रत्यक्ष सहभागी नभएको कार्की जाँचबुझ आयोगलाई बयान दिएका छन्। आयोगको प्रतिवेदनअनुसार शाहले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको आग्रहमा आन्दोलन शान्त पार्न मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पनि बयानमा उल्लेख गरेका छन्।
भदौ २४ गते भएको व्यापक आगजनीका सन्दर्भमा बालेन्द्रले महानगरले समयमै दमकल परिचालन गरेको र महानगरभित्रका संरचनामा लागेको आगो महानगरकै दमकलले नियन्त्रणमा लिएको दाबी गरेका छन्। त्यस्तै, महानगर प्रहरी र सम्बन्धित विभागसँग समन्वय गरी घाइते तथा मृतकका परिवारलाई तत्काल सहयोग उपलब्ध गराइएको समेत उनले आयोगलाई जानकारी दिएका छन्।
बयानमा पूर्वमेयर शाहले तत्कालीन सरकारमाथि अपराध र आतंकवादी क्रियाकलापमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन्। उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेका घटनाबाट भएको सम्पूर्ण क्षतिको जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ।’
आयोगले घटनाकालमा सामाजिक सञ्जालमा गरिएका उनका अभिव्यक्तिबारे पनि प्रश्न गरेको थियो। जवाफमा शाहले काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकिएपछि आक्रोशस्वरूप फेसबुकमा लेखिएको अभिव्यक्ति एक रूपक मात्र थियो र त्यसमा ‘जलाई दिन्छु’ भन्ने शब्द प्रयोग भएको थिएन। उनले आफ्नो सामाजिक सञ्जालको सक्रियताले बरु आन्दोलन शान्त पार्न सकारात्मक भूमिका खेलेको दाबी समेत गरेका छन्।


प्रतिक्रिया