कास्की जिल्ला अदालतले रवि लामिछानेले तारेख धाउनु नपर्ने आदेश दिएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा सबैभन्दा पहिले अभियोग पत्र दायर भएको कास्की जिल्ला अदालतले यस्तो आदेश दिएको हो । गत पुसमा लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
आइतबार मात्रै लामिछानेले तारेखमा नबस्ने अनुमति पाउँ भनी अदालतमा निवेदन दिएका थिए । आइतबार दर्ता भएको उनको निवेदन उपर मंगलबार सुनुवाइ गर्दै जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठले माग बमोजिम हुने फैसला गरेका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रविसहित ६३ जनालाई विपक्षी बनाएर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया