काठमाडौं । नेकपा एमालेले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई दबाबमा राख्न प्रलोपाका उम्मेद्वारलाई समर्थन गर्ने भएको छ ।
दुई दलबीच भएको सहमतिपत्रमा ‘प्रलोपाका रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिह्नमा एमालेद्वारा मतदान गर्ने सहमति भएको छ ।
एमाले महासचिव शंकर पोखरेलले दाङ घोराहीमा आइतबार रुकुम पूर्वका उम्मेदवार लीलामणि गौतम सहभागी कार्यक्रममा प्रलोपासँग भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।
२०७९ को निर्वाचनमा रुकुम पूर्वमा समानुपातिकतर्फ तत्कालीन माओवादीलाई ८ हजार २ सय ७१ मत खसेको थियो । कांग्रेसलाई ५ हजार ६ सय ९२ र एमालेलाई ३ हजार ६ सय ५९ मत परेको थियो । प्रत्यक्षतर्फ कांग्रेस–माओवादीबीच गठबन्धनबाट माओवादीका पूर्णबहादुर घर्तीे १२ हजार २ सय ६२ मत ल्याएर विजयी भएका थिए । एमालेका कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत पाएका थिए ।
२०७९ मा रुकुम पश्चिममा समानुपातिकतर्फ माओवादीले ३४ हजार ३ सय ४७, एमालेले ८ हजार ७ सय ६९ र कांग्रेसले ८ हजार ७ सय ६६ मत ल्याएका थिए । त्यति बेला रुकुम पश्चिमबाट माओवादीबाट जनार्दन शर्मा विजयी भएका थिए, जो अहिले प्रलोपाबाट उम्मेदवार छन् । शर्माको पक्षमा ३९ हजार ५ सय ४९ मत परेको थियो । निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याएका थिए । त्यहाँ माओवादीले कांग्रेस, एकीकृत समाजवादीलगायत दलसँग तालमेल गरेको थियो । रुकुम पश्चिममा १ लाख ६ हजार ६ सय ६० मतदाता छन् । यो संख्या २०७९ को तुलनामा २ हजार ३ सय ८० ले बढी हो ।




प्रतिक्रिया