सामाजिक सञ्जाल निष्क्रियप्रति कांग्रेसको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयका विषयमा सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन् ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि आम नागरिकमा असन्तुष्टि देखिएको भन्दै यसबारे सरकारसँग कुरा गरिने उल्लेख गरे । सरकारको गलत काममा कांग्रेसले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।

उनले संवैधानिक परिषद्सम्बन्धी विधेयकका सन्दर्भमा छलफल नै नभई पारितका लागि सदनमा प्रस्तुत गर्नु उचित नभएको बताए ।

त्यस्तै सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भए पनि बन्द नै गर्ने निर्णय उचित नभएको उनले बताए । बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको उपाध्यायले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार