अन्तत: प्रधानमन्त्रीले भेटे अभियान्ता बोहोरालाई

काठमाडौं । चौतफी आलोचनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानकर्मी नवराज बोहोरासँग भेट गरेका छन् ।

सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने अनुमति दिएपछि बालुवाटारमा उनीहरुबीच भेट भएको हो ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरू गरेका बोहरा ३१ औं दिनमा गत असार ३ गते काठमाडौं आइपुगेका थिए। सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाएको उनको सचिवालयले जानकारी दिए।

बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराएका थिए।

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकामा खुसी व्यक्त गरे। पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर अभियानको रूप परिवर्तन पनि गर्ने बताए।

प्रतिक्रिया