युरो सेमिफाइनलमा फ्रान्स र स्पेनकाे महाभिडन्त , इतिहास रच्ने दाउमा

 काठमाडौँ । जारि युरो २०२४ को पहिलो सेमिफाइनलमा आज पूर्वविजेताद्वय स्पेन र फ्रान्सबीच हेभिवेट भिडन्त हुँदैछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुनेछ ।

स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २-१ ले हराएर आएकोले उच्च मनोबलमा सेमिफाइनल खेल्दैछ ।

उता फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

दुई पूर्वविजेताबीचको खेल प्रतिस्पर्धात्मक हुने देखिन्छ ।

दुई टोलीको तुलना गर्दा स्पेनले जारी युरोमा अहिलेसम्म ११ गोल गरिसकेको छ भने जम्मा दुई गोल मात्र बेहोरेको छ ।

उता फ्रान्स गोल गर्न नै संघर्षरत छ । फ्रान्सले अहिलेसम्म गरेको दुई गोलमा एउटा पेनाल्टीबाट सम्भव भएको थियो भने अर्को आत्मघाती गोल बाट उपहार पाएको थियो । स्टार कप्तान केलिएन एमबाप्पे सुरुमै नाकको चोटबाट गुज्रिनु  र अन्य खेलाडीहरुले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा फ्रान्स गोल गर्न फिक्का देखिएको छ ।

उता स्पेनका मिडफिल्डर चोटका कारण युरोबाटै बाहिरिएपछि फ्रान्सविरुद्धको खेल गुमाउने भएकाछन् ।

स्पेन १२ वर्षपछि युरो फाइनलमा पुग्ने लक्ष्यमा छ भने फ्रान्स पछिल्लो ८ वर्षमा चौथो पटक मुख्य प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ । फ्रान्सले सन् २०१८ मा फिफा विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा युरो फाइनल र २०२२ मा विश्वकप फाइनल खेलेको थियो ।

स्पेन र फ्रान्स मुख्य प्रतियोगितामा एकआपसमा प्रतिस्पर्धा गर्न लागेको यो छैटौंपटक हो । यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले जितेको छ । सन् १९८४ को युरो फाइनल, २००० को युरो क्वाटरफाइनल र २००६ को विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्सले स्पेनलाई पराजित गरेको थियो ।

स्पेन र फ्रान्सको अहिलेसम्मकाे यात्रा यस्तो छ

स्पेन

स्पेनले समूह चरणमा तीनवटै खेल जितेको थियो । समूह बी को विजेता बन्ने क्रसममा स्पेनले क्रोएसियालाई ३-० ले, साविक विजेता इटली र अल्वानियालाई समान १-० ले पराजित गरेको थियो ।

यस्तै अन्तिम १६ मा नवप्रवेशी जर्जियाविरुद्ध पहिलो गोल खाए पनि स्पेन ४-१ ले विजयी भएको थियो भने क्वाटरफाइनलमा आयोजक जर्मनीलाई   २-१ ले हराएको थियो ।

युवा फरवार्ड लामिन यामल निको विलियम्स जस्ता खेलाडीले स्पेनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मिडफिल्डर रोड्रिले स्पेनको मिडफिल्ड सम्हाल्नेछन् ।

स्पेनका लागि डानी ओल्मो र फाबियन रुइज २-२ गोल गरेका छन् ।

स्पेनले सन् १९६४ म पहिलो पटक युरो जितेको थियो । यस्तै यो शताब्दीमा स्पेनले सन् २००८ र २०१२ मा लगातार उपाधि जितेको थियो ।

स्पेनले जर्मनीसँगै सर्वाधिक ३ पटक युरो उपाधि जितेको छ र चौथो पटक च्याम्पियन बन्दै सर्वाधिक सफल टोली हुने लक्ष्यमा छ ।

फ्रान्स

फ्रान्स समूह डी को उपविजेता बन्दै नकआउट चरण पुगेको थियो । उपाधिको बलियो दाबेदार रहेपनि फ्रान्सले समूह चरणमा त्यस अनुसार प्रदर्शन गर्न सकेन ।

आत्मघाती गोलको मद्दतमा अष्ट्रियाविरुद्ध पहिलो खेलमा १-० को कठिन जित निकालेको फ्रान्सले त्यसपछि नेदरल्याण्ड्ससँग गोलरहित बराबरी र पोल्याण्डविरुद्ध १-१ को बराबरी खेलेको थियो । यसै खेलमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए ।

यस्तै अन्तिम १६ मा बेल्जियमविरुद्ध १-० ले विजयी हुँदा पनि आत्मघाती गोलकै सहारा पाएको थियो ।

नियमित समयमा गोल गर्न संघर्षरत फ्रान्सले क्वाटरफाइनल पोर्चुगलविरुद्ध १२० मिनेट गोलरहित बराबरी खेलेपछि पेनाल्टीसुटआउटमा ५-३ ले विजयी भएको थियो ।

फ्रान्सले अहिलेसम्म जम्मा ३ गोल गर्दा दुई गोल उपहार पाएको छ भने एमबाप्पेले पेनाल्टीमा एक गोल मात्र गरेका छन् ।

एमबाप्पे नै टिमको मुख्य खेलाडी भएपनि नाकमा लागेको चोटका कारण उनले अहिले मास्क लगाएर खेल्नुपरेको छ । जसले गर्दा उनको खेलमा निकै असर पुगेको देखिन्छ ।

फ्रान्सले अहिलेसम्म १९८४  र २००० मा गरी दुईपटक युरो उपाधि जितेको छ । तर, २४ वर्षदेखि उपाधि जित्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार