सबै प्रदेशमा बजेटको सन्तुलन मिलाउने प्रतिबद्धता

कठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले यसअघि सुदूपश्चिममा सधैँ कम बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै आगामी बजेटमा त्यस्तो हुन नदिनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताएका हुन् ।

सुदूरपश्चिममा समृद्धिका लागि अपार सम्भावना भए पनि तुलनात्मकरुपमा पिछडिएको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यसका कारणको खोजी गरी समाधानमा लाग्न सबैलाई आग्रह गरे । उनले भने , “विगतमा यस क्षेत्रको बजेट ६/७ प्रतिशतभन्दा बढी हुन सकेन, आगामी आवमा बजेटको क्षेत्रीय सन्तुलनका लागि पहल गर्नेछु ।”

सुदूरपश्चिमका पहाडी जिल्लामा रोजगारी कम हुँदा न्यून आम्दानीका लागि पनि भारत जार्नुपर्ने बाध्यता हटाउन आफ्नो मन्त्रालयबाट आगामी आवमा सातै जिल्लाका सम्भावना खोजी गर्ने र यस क्षेत्रका ठूला आयोजना लागू गर्न पहल गर्ने उहाँले विश्वास दिलाउनुभयो । मन्त्री भण्डारीले अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई आफूले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मञ्चका संस्थापक एवं संरक्षक मोतिलाल बोहराले संस्था स्थापनाको उद्देश्य र त्यसयता सुदूरपश्चिम क्षेत्रको पहिचान र विकासका लागि भएका उपलब्धि तथा पहलबारे जानकारी गराए ।  साथै उनले देशभर छरिएर रहेका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिले आफ्नो थातथलोको समृद्धिका लागि आवश्यक योगदान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार