प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘एक्सन रुम’बाट बहुवर्षीय योजनाको अवलोकन

१५ जेठ २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयमै एक्सन रुम स्थापना गराएका थिए ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘एक्सन रुम’बाट बहुवर्षीय योजनाको अवलोकन गरेका छन् ।
प्रधानमन्त्री भएको एक वर्ष पूरा हुन लाग्दा सार्वजनिक रुपमा केही गर्न नसकेको भनेर आलोचना भइरहेका बेला उनले एक्सन रुमबाट बहुवर्षीय योजनाको अवलोकन गरेका हुन् ।
उनको साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा। वैकुण्ठ अर्याल, यातायात सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल र गणेप्रसाद पाण्डेय तथा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल समेत ‘एक्सन रुममा सहभागी थिए ।

प्रधानमन्त्रीले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गर्दै आयोजनाका अधिकारीहरुसँग कामको प्रगति, समस्या र चुनौतीबारे भिडियोमार्फत कुराकानी गरे ।

प्रधानमन्त्रीलाई बुटवल–नारायणगढ सडकखण्डको दुई प्याकेजका दुई आयोजना प्रमुखहरुले गरेको ब्रिफिङअनुसार २०७९ साउनसम्म सबै काम सकिनुपर्नेमा अहिले करिब ३९ प्रतिशत मात्रै सकिएको छ ।

प्रधानमन्त्रीले यसअघि १३ असारमा एक्सन रुमबाट भेरी बबई र सुनकोशी मरिण गरी दुई डाइभर्सन आयोजनाको प्रगति विवरण सुनेका थिए । त्यतिबेला उनले एक्सन रुमबाट राष्ट्रिय गौरबका आयोजनाहरुको निरीक्षण गर्ने बताएका थिए ।

त्यसपछि १ साउनमा बसेको सचिवहरुको नियमित बैठकले एक्सन रुममा जोडिन बाँकी आयोजनाहरुलाई तुरुन्तै जोड्ने निर्णय गरेको थियो । त्यसपछि ‘कनेक्सन’ जोडेर एक्सन रुमलाई चुस्त बनाइएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरु बताउँछन् ।

प्रचण्ड मात्रै होइन, सुरुवातदेखि नै प्रधानमन्त्रीहरुले विकास आयोजनाहरुको अनुगमन र आवश्यक सहजीकरणको पहल लिन एक्सन रुम प्रयोग गर्ने कुरालाई प्राथमिकता भने दिएका छैनन् ।

परियोजनालाई परेका समस्या हल गर्न प्रधामनन्त्री कार्यालयले नै पहल लिने भन्दै १५ जेठ २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयमै एक्सन रुम स्थापना गराएका थिए । उनी पनि एक्सन रुममा नियमित भने गएनन् । २६ कात्तिक २०७७ मा तत्कालीन उपप्रधानन्त्री ईश्वर पोखरेलले एक्सन रुम निरीक्षण गरेको रेकर्ड छ ।

के हो एक्सन रुम ?

आधुनिक प्रविधियुक्त एक्सन रुमबाट आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्न सकिन्छ । कक्षबाट प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरुले आयोजना प्रमुखसँग ‘लाइभ’ कुराकानी र छलफल गर्न सक्छन् ।

यो रुममा बसेर राजमार्ग, रेलमार्ग र सिँचाइ नहरजस्ता रेखीय पूर्वाधार बाहेकका गौरवका आयोजनाहरुमा भइरहेका काम समेत प्रत्यक्ष हेर्न सकिन्छ ।

जलविद्युत, खानेपानी र सिँचाइ आयोजनाको हेडवर्क्स, सुरुङ, आयोजनाका मुख्य निर्माणस्थल र आयोजना कार्यालयहरुमा सीसी क्यामरासहितको आधुनिक प्रणाली जोडिएको छ । आवश्यक देखिएमा प्रधानमन्त्री तथा सचिवहरुले आयोजना प्रमुखसँग एक्सन रुमबाटै सीधै रिपोर्टिङ लिन र निर्देशन दिन पनि सक्छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल अर्को हप्ता पनि २ वटा आयोजनाहरुको एक्सन रुमबाटै अनुगमन गर्ने तालिका रहेको बताउँछन् । ‘अब एक्सन रुम नियमित रुपमा खुल्छ’, उनले भने, ‘विकासका कामलाई गति दिने प्रधानमन्त्रीज्यूको प्रतिवद्धता छ, त्यसकै जगमा आवश्यकता अनुरुप एक्सन रुम उपयोग हुन्छ ।’

प्रतिक्रिया