सभापति पदमा निर्वाचितपछि गगनले भने : किसानले कांग्रेस हाम्रो पार्टी हो भन्ने बनाउनुछ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब पार्टीभित्र कसैको जितहार नहुने बताएका छन् । सभापतिमा पुनः निर्वाचित भएपछि शनिबार (असोज २४) दिउँसो पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर उनले सम्बोधन गरेका हुन् ।

“मतगणनासँगै कोही पदमा पुग्नेछौँ, कोही पदभन्दा बाहिर रहनेछौँ, तर त्यो जित र हार हुने छैन, हामी सबै जित्नेछौँ,” उनले भने, “हामीले जित्नुपर्ने कुरा के हो भने जनताको मत । हामी जनताको मत जितेर कांग्रेसप्रति विश्वास आर्जन गर्नेछौँ ।”

उनले किसानले भेट्दा कांग्रेस हाम्रा समस्याबारे बोलिदिने र अगुवाइ गर्ने पार्टी हो भनेर चिनाउने प्रतिबद्धता व्यक्त गरे । व्यवसायी, उपभोक्ता, सबै नागरिकले भरोसा गर्ने पार्टी बनाइने उनले बताए । यसनिम्ति काम गर्ने तरिका बदल्ने र सबैको मन जित्ने उनले उल्लेख गरे ।

सभापति थापाले अत्यधिक बहुमतसहितको आफ्नो विजयलाई प्रतिनिधिले गरेको भरोसा भनेका छन् । प्रतिस्पर्धाको राजनीति सुरक्षित गरिदिएका सभापति पदका अर्का उमेदवार श्यामकृष्ण खड्गीलाई उनले धन्यवाद दिए ।

अब खड्गीसँगै महाधिवेशनमा भाग नलिएकाहरूलाई पनि साथमा लिएर हिँड्नुपर्ने उनले बताए । “लोकतान्त्रिक प्रतिस्पर्धा कायम गरिदिनुभएकोमा श्यामकृष्ण खड्गीलाई धन्यवाद दिन चाहन्छु । उहाँलाई पनि सँगै लिएर हिँड्नु छ,” थापाले भने, “महाधिवेशनमै सहभागी नहुनुभएका साथीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि लिएर हिँड्नु छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार