काठमाडौं । क्यानडाकी कवयत्री तथा लेखिका एन कार्सनले सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार जितेकी छन् । प्राचीन साहित्यिक परम्परासँग नयाँ शैलीमा संवाद गर्दै समकालीन साहित्यमा नवीन रूप सिर्जना गरेकामा उनलाई यो सम्मान दिइएको हो ।
टोरोन्टोमा जन्मेकी कार्सनका कृतिमा कविता, गद्य, नाटक र अनुवादको संयोजन पाइन्छ । पुरस्कारको घोषणा गर्ने स्वीडिस एकेडेमीका अनुसार, उनलाई पुरस्कारको खबर दिँदा उनी आइसल्यान्डमा हावाको धुन सुनिरहेकी थिइन् ।
अक्टोबर ८ मा स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा स्वीडिस एकेडेमीकी स्थायी सचिव इन्ग्रिड कार्लबर्गले सन् २०२६ को नोबेल साहित्य पुरस्कार विजेताको नाम घोषणा गरेकी थिइन् । त्यससँगै करिब एक वर्षदेखि चलिरहेको गोप्य छनोट प्रक्रिया टुंगिएको थियो ।
मनोनयनदेखि अन्तिम छनोटसम्म
साहित्यको नोबेल पुरस्कार प्रदान गर्ने जिम्मेवारी स्वीडिस एकेडेमीको हो । यसमा लेखक, प्राध्यापक र अन्य बौद्धिक व्यक्तित्व गरी १८ सदस्य हुन्छन् । प्रत्येक वर्ष सेप्टेम्बरमा एकेडेमीको नोबेल समितिले मनोनयन गर्न योग्य व्यक्ति तथा संस्थालाई नाम सिफारिस गर्न आह्वान गर्छ ।
नोबेल पुरस्कारको आधिकारिक वेबसाइटका अनुसार विश्वविद्यालयका साहित्य तथा भाषाविज्ञानका प्राध्यापक, अघिल्ला नोबेल विजेता र सम्बन्धित देशका साहित्यिक संस्थाले लेखकहरूको नाम सिफारिस गर्न सक्छन् ।
फ्रान्सको नेसनल सेन्टर फर साइन्टिफिक रिसर्चकी अनुसन्धान निर्देशक गिलेज सापिरोका अनुसार मनोनयन सूचीमा एक वर्षमा २०० सम्म लेखकका नाम हुन सक्छन् । समितिले अघिल्ला वर्षमा मनोनयनमा परेका लेखकसँगै नयाँ नाम पनि समावेश गर्न सक्छ ।
वसन्त ऋतुमा समितिले विभिन्न चरणको मूल्यांकनपछि पाँच लेखकको नाम एकेडेमीसमक्ष प्रस्तुत गर्छ । त्यसपछि एकेडेमीका सदस्यले ग्रीष्म ऋतुभरि उनीहरूका कृति पढेर छलफल गर्छन् र अक्टोबरमा विजेता घोषणा गर्छन् ।
५० वर्षसम्म गोप्य रहन्छ मनोनयन सूची
साहित्यको नोबेल पुरस्कारमा को–को मनोनयनमा परेका थिए भन्ने विवरण ५० वर्षसम्म गोप्य राखिन्छ । त्यसपछि मात्र एकेडेमीले सम्बन्धित अभिलेख सार्वजनिक गर्छ ।
कहिलेकाहीँ लेखकले पहिलोपटक मनोनयनमा परेको धेरै वर्षपछि पुरस्कार पाउँछन् । सन् १९४४ का विजेता जोहानेस भि. जेन्सेनले ४० वर्ष, सन् २००७ की विजेता डोरिस लेसिङले ३५ वर्ष र सन् १९२९ का विजेता थोमस मानले २७ वर्ष पर्खनुपरेको थियो ।
पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलले आफ्नो इच्छापत्रमा साहित्यतर्फको सम्मान आदर्शवादी दिशामा उत्कृष्ट कृति सिर्जना गर्ने व्यक्तिलाई दिइनुपर्ने उल्लेख गरेका थिए । सापिरोका अनुसार एकेडेमीले नयाँ साहित्यिक प्रवृत्ति विकास गर्ने र आफ्नै संस्कृति तथा सीमाभन्दा बाहिरका पाठकसँग पनि सम्बन्ध स्थापित गर्न सक्ने प्रभावशाली साहित्यलाई सम्मान गर्ने लक्ष्य राख्छ ।
अनुवाद, अन्य पुरस्कार र राजनीतिक प्रभाव
लेखकका कृति विभिन्न भाषामा अनुवाद हुनु उनको अन्तर्राष्ट्रिय पहुँचको महत्वपूर्ण संकेत मानिन्छ । सन् १९९० यताका अधिकांश नोबेल साहित्य विजेताका कृति अंग्रेजी, फ्रान्सेली र जर्मन भाषामा अनुवाद भएका थिए । सन् २०२१ का विजेता अब्दुलराजाक गुर्नाह यस सन्दर्भमा अपवादका रूपमा उल्लेख गरिएका छन् ।
मान बुकर पुरस्कार, सर्भान्टेस पुरस्कार र गेओर्ग बुच्नर पुरस्कारजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान पाएका लेखकहरू पनि नोबेल पुरस्कारको मनोनयनमा पर्ने गरेका छन् ।
एकेडेमीको छनोटमा राजनीतिक सन्दर्भले पनि कहिलेकाहीँ चर्चा पाउने गरेको छ । सन् २०१५ मा बेलारुसको सत्ताको आलोचना गर्ने लेखिका स्वेतलाना अलेक्सिएविचलाई पुरस्कार दिइएको थियो । विधागत रूपमा पनि यसको दायरा फराकिलो छ । उपन्यास, कविता र नाटकसँगै सन् २०१६ मा गायक तथा गीतकार बब डिलनलाई गीतका शब्दका लागि पुरस्कार प्रदान गरिएको थियो ।
नोबेल पुरस्कारको उपलब्ध विवरणअनुसार सन् २०२५ सम्म साहित्यतर्फ १२२ जनाले पुरस्कार पाएका थिए । तीमध्ये ३३ जना युरोपबाहिरका थिए । महिला विजेताको हिस्सा १४.९ प्रतिशत थियो । डीडब्ल्यू




प्रतिक्रिया