कांग्रेस १५औँ महाधिवेशन : मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि केही ढिलोगरी मतदान प्रक्रिया सुरु भएको हो । महाधिवेशनका ज्येष्ठ प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेका छन् ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका छन् भने निर्वाचन समितिका अनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले प्रतिनिधिहरूको सहजताका लागि विभिन्न स्थानमा मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिएका छन् । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।

निर्धारित व्यवस्थाअनुसार राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ बाट वाग्मती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोसी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ । त्यस्तै, हिमाल हलमा गण्डकी प्रदेशका र तराई–मधेस हलमा मधेस प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् ।

पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन समितिका अनुसार मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइनेछ । निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायत सामग्री मतदानस्थलभित्र लैजान पनि प्रतिबन्ध लगाइएको छ ।

मतदानबाट पार्टीको सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन् । उम्मेदवारीअनुसार प्रतिनिधिहरूले सम्बन्धित पदका लागि तोकिएका मतपत्रमार्फत मताधिकार प्रयोग गर्नेछन् ।

मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार