एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आजदेखि गल्फ र जुडोमा प्रतिस्पर्धा सुरु गर्दैछ।

गल्फको पुरुष व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा सुवास तामाङ र राहुल विश्वकर्माले प्रतिस्पर्धा गर्नेछन्। महिला व्यक्तिगत स्ट्रोक प्लेमा भने तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछिन्।

गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले खेलाडीले पर्याप्त अभ्यास गरेकाले प्रतियोगितामा सकारात्मक नतिजा आउने अपेक्षा व्यक्त गरेका छन्।

यस्तै, जुडोतर्फ निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष विक र विकास विकले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। निशाले महिला ४८ केजीमुनि, देवकीमायाले ५२ केजीमुनि तथा विशेषले पुरुष ६६ केजीमुनि र विकासले ६० केजीमुनिको तौल समूहमा खेल्नेछन्।

यसैबीच, कनोइङ स्लालमको पुरुष कायक एकलतर्फ नेपालका विजय माझी र आशिष रानामगर सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार भएको हिट चरणमा विजयले २०२.०६ सेकेन्ड तथा आशिषले २११.८६ सेकेन्डको समय निकाल्दै क्रमशः १५औँ र १६औँ स्थान हासिल गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार जारी २०औँ एसियाली खेलकुदमा नेपालबाट विभिन्न खेल विधामा गरी १३५ जना खेलाडी सहभागी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार