काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेपछि पृथ्वी राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। पहिरोका साथै केही स्थानमा बाढीले सडक कटान तथा डाइभर्सन बगाएपछि सडक सञ्चालनमा समस्या आएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरेशराज सुवेदीका अनुसार धादिङको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ। ठूलो परिमाणमा लेदोसहित पहिरो खसेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
कृष्णभिरमा खसेको पहिरो भने पन्छाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्। तर, चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा नियमित यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको सुवेदीले बताए।
पहिरो पन्छाउने क्रममा थप वर्षा भए माथिबाट पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले यातायात सञ्चालनमा थप समस्या आउन सक्ने ट्राफिक प्रहरीले जनाएको छ।
वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित ७ राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ। कान्ति लोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा खसेको पहिरो हटाउने काम जारी छ।
त्यस्तै, बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीका कारण डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ।
दक्षिणकाली–सिस्नेरी सडकखण्डमा भने साना सवारीसाधन सञ्चालन भइरहेका छन्। ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको सुवेदीले जानकारी दिए।
ट्राफिक प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार नगर्न तथा सडकको अवस्थाबारे पूर्वसूचना लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ।




प्रतिक्रिया