भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग बिदाइ भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

आफ्नो कार्यकाल पूरा गरी नेपालबाट फर्कन लागेका राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध लामो समयदेखि सुमधुर र प्रगाढ रहँदै आएको बताए । साथै, हालै नेपालमा आएको बाढीपहिरोलगायत विपद्का समयमा भारत सरकारले गरेको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी दिनका लागि शुभकामना पनि दिए ।

भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजनाहरू अघि बढेको तथा सम्पन्न भएको जानकारी गराए । उनले नेपाल बसाइका क्रममा सहयोग र सहकार्य गर्ने नेपाल सरकार तथा नेपाली जनताप्रति धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार