काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशन दुई दिन पछि सारेको छ। यसअघि असोज १६ गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले अब असोज १८ गतेदेखि महाधिवेशन गर्ने भएको हो।
कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।
१५ औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया चलिरहेको कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी छ। निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट समेत सोही व्यहोराको जानकारी प्राप्त भएको कांग्रेसले जनाएको छ।
यही परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सारिएको कांग्रेसले जनाएको हो।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितिलाई मध्यनजर गरी १५ औँ महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २:०० बजे खुलामञ्चमा हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ।’




प्रतिक्रिया