काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच अमेरिका भ्रमणको दोस्रो दिन पनि सौहार्दपूर्ण वातावरणमा भेटवार्ता भएको छ । इरान, ताइवान, कृत्रिम बौद्धिकता (एआई) र व्यापारमा मतभिन्नता रहे पनि दुवै नेता अमेरिका–चीन सम्बन्धमा संवाद अघि बढाउने पक्षमा देखिएका छन् ।
ट्रम्पले भेटवार्तालाई ‘उत्कृष्ट बैठक’ भन्दै सीसँगको सम्बन्धलाई ‘महान् मित्रता’का रूपमा व्याख्या गरे । “सन् २०१६ मा मेरो पहिलो निर्वाचनको समयदेखि नै राष्ट्रपति सी र मैले एउटा मित्रता, वास्तवमै एउटा महान् मित्रता कायम गरेका छौँ, जुन आपसी सम्मान र हाम्रा जनताको महत्त्वपूर्ण हितमा आधारित छ,” ट्रम्पले भने ।
स्थिर सम्बन्धमा जोड
व्यापार युद्धका कारण तनाव बढे पनि दुवै नेताले सम्बन्धलाई स्थिर बनाउने संकेत दिएका छन् । सीले अमेरिका र चीनले ‘थ्युसिडाइड्स ट्रयाप’बाट बच्नुपर्ने बताए ।
“यो एकार्कालाई पछ्याउने प्रतिस्पर्धा हुनुपर्छ, कसैले जित्ने वा हार्ने कुस्ती हुनु हुँदैन,” सीले भने ।
दुवै देशबीच गहिरो अन्तरनिर्भरता रहेकाले सकारात्मक प्रतिस्पर्धामा जोड दिनुपर्ने उनको भनाइ थियो ।
इरान विषयमा ठोस सहमति भएन
वार्तामा इरान युद्ध पनि प्रमुख विषय बन्यो । ट्रम्पले इरानलाई आर्थिक रूपमा अलग्याउने र होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने अमेरिकी प्रयासमा चीनको समर्थन खोजेका छन् । तर, इरानको प्रमुख व्यापारिक साझेदार चीन यसमा प्रत्यक्ष संलग्न हुन हिचकिचाउँदै आएको छ ।
वार्ताबाट यो विषयमा ठोस प्रगति भएन । सीले भने अमेरिका र इरानलाई पुनः अन्तरिम सम्झौतामा फर्कन समर्थन गर्ने बताएका छन् ।
ताइवानबारे मतभिन्नता कायमै
ताइवानबारे पनि दुवै पक्षबीच मतभिन्नता कायमै छ । सीले ट्रम्पलाई ताइवानको स्वतन्त्रताको विरोध गर्न र यो मुद्दालाई विवेकपूर्ण रूपमा सम्हाल्न आग्रह गरेका चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
ह्वाइट हाउसले भने वार्तामा ताइवानबारे भएको छलफलको आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।
अमेरिकी सांसदको मिश्रित प्रतिक्रिया
अमेरिकी सांसदहरूले सीको भव्य स्वागतप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । केही रिपब्लिकन र डेमोक्र्याटिक सांसदले चीनसँग गम्भीर मतभेद कायम रहेकाले ट्रम्पको स्वागत शैलीप्रति असन्तुष्टि जनाएका छन् ।
तर, केही सांसदले द्वन्द्व रोक्न अमेरिका–चीन संवाद आवश्यक रहेको बताएका छन् । रिपब्लिकन सेनेटर र्यान्ड पलले भने, “कूटनीति नै मुख्य कुरा हो । धेरै कुराकानी गरौँ, युद्ध कम गरौँ ।” अलजजिराबाट ।



प्रतिक्रिया