एमाले विवाद: पोखरेल र थापाको प्रतिवेदनपछि आयो ज्ञवालीको, थप के छ नयाँ ?

काठमाडौं । नेकपा एमालेले गत फागुन २१ गतेको निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा गर्दै तेस्रो प्रतिवेदन तयार गरेको छ । यसअघि महासचिव शंकर पोखरेल र नेता रामबहादुर थापा ‘बादल’का प्रतिवेदन विवादमा परेपछि अध्यक्ष केपी शर्मा ओलीले नेता प्रदीप ज्ञवालीलाई नयाँ प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएका थिए ।

ज्ञवालीको प्रतिवेदनमा निर्वाचन पराजयका आन्तरिक तथा बाह्य कारण औँल्याइएको छ । भदौ २३ र २४ गतेका घटनाक्रम, सामाजिक सञ्जालको प्रभाव, पार्टीभित्रको अन्तर्घात, संगठनात्मक कमजोरी, टिकट वितरणमा त्रुटि तथा नेता–कार्यकर्ताबीचको दूरीलाई पराजयका कारणका रूपमा उल्लेख गरिएको छ ।

प्रतिवेदनले भने पराजयलाई केवल एमालेको हार नभई राष्ट्रियता, लोकतन्त्र र संविधानवादका पक्षमा उभिएका शक्तिमाथिको प्रहारका रूपमा व्याख्या गरेको छ । साथै ओली नेतृत्वमा संविधान जारी, नाकाबन्दीको सामना तथा चीनसँगको व्यापार तथा पारवहन सम्झौताजस्ता उपलब्धिलाई विशेष रूपमा उल्लेख गर्दै उनको नेतृत्वको बचाउ गरिएको छ ।

निर्वाचनमा एक लडाइँ हारे पनि समग्र युद्ध नहारेको भन्दै कार्यकर्ताको मनोबल बढाउने प्रयास गरिएको प्रतिवेदनमा आगामी दिनका लागि ३९ बुँदे कार्ययोजना पनि अघि सारिएको छ । त्यसमा युवालाई पार्टीमा जोड्ने, आलोचना–आत्मालोचनाको संस्कृति विकास गर्ने र प्रभावकारी डिजिटल संयन्त्र निर्माण गर्नेलगायतका विषय छन् ।

निर्वाचित जनप्रतिनिधिलाई पार्टी निर्देशन पालना गराउने तथा अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ । प्रतिवेदनमाथि छलफलका लागि आइतबार कार्यदलको बैठक बोलाइएको छ । तर ओलीको बचाउमा बढी केन्द्रित भएको भन्दै प्रतिवेदनमाथि पार्टीभित्रै प्रश्न उठ्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार