काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले वर्तमान सरकार राज्य सञ्चालन, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा असफल हुँदै गएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद भाटले सरकारले जनतालाई सुशासनको अनुभूति दिलाउन नसकेको दाबी गरे । उनले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार र वर्तमान सरकारको कार्यशैलीमा आफूले कुनै भिन्नता नदेखेको बताए ।
मन्त्रीहरूले ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्न थालेको भन्दै उनले त्यसप्रति पनि असन्तुष्टि जनाए । ‘राज्य पूरै असफलतातिर ढल्किरहेको छ । सरकारले काम गर्न सकेन, जनतालाई सुशासन दिन सकेन । मन्त्रीको सल्लाहकार राष्ट्रिय फौजजस्तै भर्ना हुन लागेको छ,’ उनले भने, ‘त्यसकारण पहिलाको सरकार र अहिलेको सरकारमा कुनै फरक मैले देखिरहेको छैन ।’
सांसद भाटले शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । युवामा बेरोजगारी बढिरहेको भन्दै उनले सरकारले रोजगारी सिर्जना गर्न नसकेको बताए ।
कृषि क्षेत्रमा रासायनिक मलका लागि करोडौं रुपैयाँ बजेट विनियोजन गरिए पनि किसानले आवश्यक समयमा मल पाउन नसकेको उनको भनाइ थियो । उनले ठूला कृषि अनुदानको वितरणप्रति प्रश्न उठाउँदै साना तथा गरिब किसानले पर्याप्त सरकारी सहयोग नपाएको आरोप लगाए ।
स्वास्थ्य बीमाको प्रभावकारितामाथि समेत प्रश्न उठाउँदै भाटले बीमा सुविधा लिन अस्पताल पुग्ने बिरामीले अपेक्षित सेवा पाउन नसकेको बताए । राज्य सञ्चालनदेखि शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिसम्म सरकारले प्रभावकारी काम गर्न नसकेको उनको निष्कर्ष थियो ।


प्रतिक्रिया