काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईको सम्भावित जोखिमलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाको बीचमा फैलाइएको एउटा हौवा (भ्रम) मात्र भएको जिकिर गरेका छन् ।
कृत्रिम बौद्धिकता (एआई)ले निम्त्याउन सक्ने गम्भीर खतराप्रति विज्ञले लगातार चेतावनी दिइरहेका बेला आयरल्यान्ड भ्रमणका क्रममा पत्रकारसँग ट्रम्पले यस्तो बताएका हुन् ।
उनले भने, “हामीसँग धेरै नकारात्मक शक्ति छन्, जसले नचाहिँदो विषय उठाइरहेका छन् । उनीहरू यस्ता कुरा गरिरहेका छन्, जुन कहिल्यै सम्भव छैन ।”
एआई उद्योगका कतिपय प्रमुख व्यक्तिहरूले यसको विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने माग गरिरहेका छन् । तर, ट्रम्पले ती मागलाई सिधै अस्वीकार गर्दै अमेरिका सधैँ अगाडि रहनुपर्नेमा जोड दिए ।
“हामी एआईको दौडमा चीनभन्दा अगाडि छौँ र म यसलाई यसरी नै कायम राख्न चाहन्छु । किनभने, जसले एआईको यो प्रतिस्पर्धा जित्छ, उसैले विश्व जित्छ,” ट्रम्पले थपे ।
उनले एआईको गति कम गर्न चीनसँग समेत सहकार्य र समन्वय गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया