काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बैंक तथा वित्तीय क्षेत्रलाई समेत ठूलो क्षति पुर्याएको छ। बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन्।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा उल्लेख्य क्षति पुगेको हो।
प्रतिवेदनअनुसार सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको एउटा शाखामा भएको छ। उक्त शाखामा मात्रै ६५ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ।
त्यसैगरी सिटिजन्स बैंकको एउटा शाखामा १ करोड ५६ लाख, ग्लोबल आइएमई बैंकको एउटा शाखामा ११ लाख, हिमालयन बैंकको एउटा शाखामा ७५ लाख र लक्ष्मी सनराइज बैंकको एउटा शाखामा १ करोड १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
माछापुच्छ्रे बैंकको एउटा शाखामा ७५ लाख र नबिल बैंकको एउटा शाखामा ६३ लाख रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
एनआईसी एशिया बैंकका तीन शाखा प्रभावित हुँदा ८८ लाख रुपैयाँ तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तीन शाखामा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, एनएमबी बैंकको एउटा शाखामा ४ लाख, प्रभु बैंकका दुई शाखामा ५३ लाख र सानिमा बैंकको एउटा शाखामा ६३ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
विदुरमा सबैभन्दा ठूलो क्षति
भौगोलिक रूपमा हेर्दा नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार शाखामा सबैभन्दा ठूलो क्षति भएको देखिन्छ। प्रतिवेदनअनुसार विदुरमा मात्रै बैंकिङ क्षेत्रमा ६७ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ वटा शाखा प्रभावित हुँदा ४ करोड २३ लाख रुपैयाँ, कालिका गाउँपालिकामा एउटा शाखामा २८ लाख रुपैयाँ र उत्तरगया गाउँपालिकामा एउटा शाखामा ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बैंकिङ क्षेत्रको क्षतिबाहेक बाढी प्रभावित क्षेत्रमा थप १९ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
त्यसमध्ये नुवाकोटको विदुरमा ६ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा ९ करोड ५३ लाख, कालिका गाउँपालिकामा ७९ लाख र उत्तरगया गाउँपालिकामा ३ करोड २३ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
भोटेकोशी बाढीले भौतिक पूर्वाधारसँगै बैंक तथा वित्तीय सेवा प्रभावित बनाएपछि प्रभावित क्षेत्रमा वित्तीय सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

प्रतिक्रिया