केसीको प्रश्न : ग्रीन आर्मी के हो, कहाँबाट आयो, जात के हो ?

काठमाडौं । नेपाली कांग्रेसले ग्रिन आर्मीका बारेमा सरकारलाई प्रश्न गरेको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समयमा पार्टीको तर्फबाट समय लिएर बोल्दै सांसद अर्जुननरसिंह केसीले ग्रीन आर्मीबारे प्रश्न उठाएका हुन् । सो क्रममा उनले भने, ‘यो ग्रीन आर्मी भनेको के हो ? के जात हो ? कहाँबाट आयो ? यसमाथि गम्भीर प्रश्न छ  । सैनिक पोसाक र दर्ज्यानी चिन्हसहित जो उपस्थित भएको छ । के यो प्राइभेट मिलिटरी हो ?’

यस्तो अन्य देशमा कहाँ के छ भनेर पनि उनले सुनाए ।

‘अमेरिकाको ब्याक वार्टर, रुसको र्‍यांगल वाग्नर ग्रुप जस्तै हो कि ? अथवा यो के हो ?’ उनले प्रश्न गरे ।

नेपालमा नेपाली जनताले एउटै नेपाली सेना मात्रै चिनेको उनले बताए । यसमा सरकारले तत्काल ध्यान दिनुपर्ने आग्रह गरे ।

ग्रीन आर्मी नेपाल हालै भोटेकोशी नदीको बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोट मा उद्धारमा खटिएको छ । यसपछि यसको चर्चा चलिरहेको छ ।

यो एउटा गैरसरकारी स्वयंसेवी संस्था भनिएको छ । तर यस संस्थाका सदस्यहरू नेपाली सेनाको जस्तै देखिने चुस्ता र बुट लगाएर मैदानमा उत्रिएपछि चासो व्यक्त भएको हो ।

यो सामाजिक सञ्जालदेखि संसदसम्म उठेको छ ।

यसअघि संसद्मा सत्तारुढ दल रास्वपाकै सांसद हरिमोहन भण्डारीले यो विषयमा छानबिनको माग राखेका छन् ।

‘नेपाली सेना, सशस्त्र प्रहरीले गरेको कार्यको प्रशंसा गर्न चाहन्छु र यो हरियो सेना भनेको के हो ?,’ उनले भने, ‘यसका बारेमा अबिलम्व छानबिन गर्न मैले जरूरी देखेको छु ।’

प्रतिक्रिया