काठमाडौं । सर्वदलीय बैठक फेरि बस्ने भएको छ । मंगलबार (भदौ १६) दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो ।
बैठक सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा बस्नेछ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, त्यसपछि खोजी तथा उद्धार कार्य, राहत र पुनर्स्थापनाका विषयमा बैठकमा छलफल गरिने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गते पनि रास्वपा सभापति रवि लामिछानेको आह्वानमा यही विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको थियो ।
उक्त बैठकबाट देशमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा संकल्प पारित गरिएको थियो । विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न एक संसदीय समिति (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने सहमति सर्वदलीय बैठकबाट गरिएको थियो ।
सोही प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल गर्न बैठक आयोजना गरिएको रास्वपा प्रवक्ता एवं सांसद खरेलले जानकारी दिए ।

प्रतिक्रिया