काठमाडौं । मेटलाइफ नेपालले भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएको जनाएको छ। बाढीबाट सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको कम्पनीले जनाएको छ।
प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी रहेकाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा सहयोग गरेको मेटलाइफ नेपालले जनाएको छ।
कम्पनीले विपद्को कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायको सहयोगमा निरन्तर खटिरहेका नेपाल सरकार, सुरक्षा निकाय, उद्धारकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा मानवीय सहायता प्रदान गर्ने संस्थाप्रति ऐक्यबद्धता जनाएको छ।
सामूहिक प्रयासबाट प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउँदै राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सकिने कम्पनीको भनाइ छ।
मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालनमा रहेको र व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन, दुर्घटना तथा स्वास्थ्य बीमालगायतका सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया