काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोपछि तत्काल उद्धार र राहत कार्यका लागि आपतकालीन सहयोग घोषणा गरेको छ । एडीबीले ५० लाख अमेरिकी डलर (करिब ६७ करोड रुपैयाँ)को आपत्कालीन अनुदान स्वीकृत गरेको छ ।
एडीबीका अध्यक्ष मासातो कान्डाले यस सहयोगलाई बैंकको प्रतिबद्धताका रूपमा उल्लेख गरेका छन् । उनले भनेका छन्, “जब हाम्रा सदस्य राष्ट्रका जनतालाई हाम्रो आवश्यकता पर्छ, हामी उनीहरूका लागि साथमा हुनेछौँ । बाढी प्रभावित परिवारहरूले आफ्ना प्रियजन, घर र आधारभूत सेवाहरू गुमाएका छन् । यो सहयोगले उनीहरूलाई तत्काल आवश्यक पर्ने खाना, सुरक्षित पानी, आवास र औषधि पुर्याउन मद्दत गर्नेछ ।”
यो अनुदान एडीबीको ‘एसिया प्रशान्त विपद् प्रतिक्रिया कोष’ मार्फत प्रदान गरिएको हो । “यस रकमले खोज तथा उद्धारका उपकरण, चिकित्सा सामग्री, खाद्यान्न, पिउने पानी, अस्थायी आवास, सरसफाइ सामग्री र भग्नावशेष हटाउने कार्यमा खर्च गरिनेछ,” एडीबीले बताएको छ ।
एडीबीले विपद् पछिको आवश्यकता मूल्यांकन र पुनर्निर्माणको योजना बनाउन थप एक लाख ५० हजार डलर प्रक्रियामा रहेको जानकारी दिएको छ ।
एडीबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्र संघका निकायहरू र अन्य विकास साझेदारहरूसँग मिलेर काम गरिरहेको छ । नेपालको विपद् जोखिम न्यूनीकरण र बलियो पूर्वाधार निर्माणमा एडीबीले लामो समयदेखि सहयोग गर्दै आएको र आगामी पुनर्निर्माणका कार्यहरूमा पनि साथ दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया