पुष्प व्यवसायमा करिब नौ अर्ब लगानी

पछिल्लो समय विस्तार हुँदै गएको पुष्प व्यवसायमा निजी क्षेत्रको करिब नौ अर्ब रुपियाँ लगानी रहेको पाइएको छ । बढ्दो सहरीकरणसँगै पुष्प व्यवसाय विस्तार भई आत्मनिर्भरतातर्फ गएको छ । तिहारका बेला सयपत्री माला आयात भए पनि अन्य सिजनमा भने पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर बनेको छ ।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड रुपियाँ बढीको लगानी छ । देशभर ५२ जिल्लामा २७० हेक्टर क्षेत्रमा पुष्प व्यवसाय सञ्चालन भइरहेको छ । यस व्यवसायमा ५३ हजार पाँच सय बढीले रोजगारी पाएका छन् ।

फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसाय आत्मनिर्भर भई निर्यात गर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो । वार्षिक रूपमा पुष्प व्यवसायको माग र आपूर्ति १० देखि १५ प्रतिशत बढ्दै गएको उहाँले बताउनुभयो ।

पुष्प व्यवसायका लागि आवश्यक पर्ने बिउ र बेर्ना आयात गर्न नसक्दा आन्तरिक कारोबारमा समस्या पर्ने गरेको उहाँको भनाइ छ । फ्यानका अनुसार आव २०८०/८१ मा तीन अर्ब ६८ करोड रुपियाँ बराबरको पुष्प व्यवसायको कारोबार भएकामा आव २०८१/८२ मा घटेर तीन अर्ब ३७ करोडको कारोबार भएको थियो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा एक करोड दुई लाख रुपियाँको पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात भएकामा आव २०८१/८२ मा बढेर दुई करोड १३ लाख पुगेको छ । यस्तै आव २०८०/८१ मा १२ करोड ७० लाख रुपियाँको आयात भएकामा आव २०८१/८२ मा २७ करोड ७९ लाख रुपियाँको आयात भएको थियो । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्केका युवा पुष्प व्यवसायमा आकर्षित रहेका छन् ।

पुष्प कृषकले कृषि कर्जा नपाउनु र प्लास्टिकजन्य फूलको आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा भित्रिने फूलका कारणले व्यवसाय सञ्चालन गर्न समस्या परेको पुष्प व्यवसायीको भनाइ छ । प्लास्टिकजन्य फूलको प्रयोग हुँदा स्थानीय उत्पादकलाई प्रत्यक्ष मार पर्ने गरेको व्यवसायीको भनाइ छ ।

फ्यानका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसायलाई प्रवर्धन गर्न पुष्प प्रवर्धन नीति कार्यान्वनमा ल्याउनुपर्ने बताउनुभयो । तिहारका बेला फूलका माला आयात गर्नुपरे पनि अन्य समयमा फूलमा आत्मनिर्भर बन्द गएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार