काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको छ । निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।
सेयर धितोमा लचकता अपनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा भने यथावत छ ।
- यस्ता छन् राष्ट्र बैंकले गरेका लचक व्यवस्था
(क) पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने ।
(ख) असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने ।
(ग) कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।
(घ) विद्यमान रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमालाई २ करोडबाट बढाएर अधिकतम रु २ करोड ५० लाख कायम गर्ने ।
(ङ) बैक तथा वित्तीय संस्थाले टायर २ क्यापिटल गणना गर्दा क्यापिटल एडुकेसि फ्रेमवर्क २०१५ को व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई टायर २ क्यापिटलको रुपमा गणना गर्न सकिने व्यवस्था गर्ने ।
अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएपनि पूँजीकोष अभावले कर्जा लगानी गर्न सकेका थिएन्। राष्ट्र बैंकको व्यवस्थाले बैंकहरुको पूँजीकोष बढाउने छ जसले गर्दा बैंकहरुलाई कर्जा लगानी बढाउन सहज हुने छ।





प्रतिक्रिया