काठमाडौं । नेपालमा गएको बाढी र पहिरोपछि हिमनदी तथा जलस्तरसम्बन्धी आवश्यक पूर्वसूचना उपलब्ध नगराएको भनी उठेका प्रश्नहरूलाई चिनियाँ विदेश मन्त्रालयले अस्वीकार गरेको छ ।
चीनले नेपालसँग मौसम, जलस्रोत तथा विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ । चीनले विपद् राहत तथा उद्धारमा नेपाललाई पूर्ण सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
चिनियाँ पक्षका अनुसार मौसम सम्बन्धी हाइड्रोलोजिकल र मेट्रोलोजिकल तथ्यांक नियमित रूपमा प्रदान गरिँदै आएको छ ।
चिनियाँ विदेश मन्त्रालयले रोयटर्सलाई उपलब्ध गराएको एक वक्तव्यमा दुवै देशबीच मौसम विज्ञान, जलस्रोत र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सुदृढ सहकार्य रहँदै आएको जनाएको छ ।
चीनले नेपालको राहत कार्यमा पूर्ण सहयोग जारी राख्ने र दुवै देशका जनताको साझा हित रक्षाका लागि सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
दुवै देशका नागरिकको सुरक्षा र हित रक्षाका लागि विपद् न्यूनीकरणमा सहकार्य थप बलियो बनाइने चीनको विदेश मन्त्रालयले रोयटर्सलाई दिएको एक वक्तव्यमा उल्लेख छ ।
बाढी आउनुअघि चीनसँग विशेष गरी आफ्नो सीमाबाहिरका हिमाली क्षेत्रका हिमनदीको अवस्थाबारे कुन स्तरको तथ्यांक उपलब्ध थियो भन्ने अझै स्पष्ट हुन नसकेको रोयटर्सले जनाएको छ ।
तर, चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजीका भू–जोखिम विशेषज्ञ फ्यान सुआनमेईले यस्ता हिमाली क्षेत्रमा विपद् आउनुअघि नै जोखिम पत्ता लगाउनु अत्यन्तै कठिन हुने बताए ।
पाँच हजार मिटरभन्दा बढी उचाइमा हुने भएकाले परम्परागत रूपमा मैदानमै गएर निगरानी गर्न असम्भवप्रायः हुनुका साथै, अत्यधिक चिसो र उच्च उचाइका कारण सेटेलाइट तस्बिरहरू हिउँ, बरफ र भिरालो भूगोलले गर्दा अस्पष्ट हुने र अनुगमन उपकरणहरूले काम गर्न कठिन हुने उनले बताए ।

प्रतिक्रिया