काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले गरेको सो फैसलाको पूर्णपाठमा उमेर पुगेका साबालिगहरुको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने उल्लेख छ ।
फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ ।
फैसलाको पूर्णपाठमा के छ ?
गौशाला २६ (छ) (१) ले अदालतमा बकपत्र गर्दा निजलाई तपाईंले I just hugged Sandeep Lamichhane the day before yesterday लेखी प्रशन्न मुद्राको इमोजीसमेत राखेको सम्बन्धमा सो म्यासेज कसलाई गर्नुभएको हो र सो म्यासेजको मतलब बताइदिनुस् भनी सोधनी हुँदा मेरो प्रतिवादी सन्दीप लामिछाने मैले आइडियलाइज्ड गरेको व्यक्ति भएको र उक्त टेक्स्ट एक जना चिनेको दाइसँग कुराकानी गर्ने क्रममा मैले पठाएकी थिएँ भन्ने व्यहोरा लेखाएको ।
मिसिल संलग्न सीसीटीभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शंकारहित तवरले पुष्टि नभएको ।
पीडित र प्रतिवादीबीच पीडितको होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको ।
रातको समयमा काठमाडौं इनमा बसी भोलिपल्ट प्रतिवादीले नै पीडितलाई निजको होस्टलमा पुर्याएको ।
पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, घटनास्थल प्रकृति मुचुल्का, वारदातस्थलमा भएको वस्तुहरु बेड, तन्ना, टिस्यु पेपर, पीडित गौशाला २६ ले लगाएको भित्री, बाहिरी कपडाहरुको समेत परीक्षण एकातर्फ भएको छैन भने अर्कातर्फ ती प्रमाणहरुले अभियोगदाबी समर्थित हुने कुनै आधार पनि नदेखाएको ।
सहमतिबमोजिम नै सम्पूर्ण घटनाक्रम भएको तथ्यलाई अन्यथा मान्नुपर्ने कारण नदेखिएको पूर्णपाठमा जनाइएको छ ।
‘पीडित आफैंले प्रतिवादीलाई फ्रेन्ड रिक्वेस्ट पठाएको, प्रतिवादीलाई स्न्याप च्याटमार्फत फोटोहरु पठाउने गरेको, प्रतिवादीले आफू क्रिकेट खेल्न विदेश गई २ महिनापछि फर्केर आई भेट्छु भन्दा पीडितले मलाई सहयोग गर्नुपर्यो भनी तुरुन्तै भेट्न चाहेको, प्रतिवादीले गाडी लिएर आउँदा स्वतफूर्त रुपमा पीडित प्रतिवादीको गाडीमा गई बसेको, नगरकोट जाँदासमेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई चाँडै जाउ, तिम्रो होस्टेल बन्द हुन्छ भन्दा होस्टल जुनसुकै बखत पनि खुला हुन्छ भनी प्रतिवादीलाई विश्वास दिलाएको, नगरकोटको होटल प्रतिवादीले बुक गराएको भन्ने तथ्य पुष्टि नभएको र पछि आउँदा मेरो होस्टेल बन्द भइसकेको भनेकाले प्रतिवादीले म तिमीलाई एउटा होटलमा कोठा लिइदिन्छु, म क्लोज क्याम्प रहेको होटलमा साथीहरुसँग बस्न जानुपर्छ भन्दा पीडितले नमानी आफूलाई एक्लै नछोड्नु भनी जिकिर गरेको, दुवै जना स्वस्फूर्त रुपमा नगरकोटको बोजिनी होटलबाट काठमाडौं फर्केको, होटल काठमाडौं इनमा दुवै जना बसेको, होटल प्रवेश गरेदेखि होटलबाट निस्केको बखतसम्म पीडित र प्रतिवादीबीच कुनै झगडा मनमुटाव नभई पीडितले सहमतिबमोजिम नै सम्पूर्ण घटनाक्रम भएको तथ्यलाई अन्यथा मान्नुपर्ने कारण देखिँदैन ।’


प्रतिक्रिया