काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले०अध्यक्ष केपी शर्मा ओलीसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्दा राष्टिय स्वतन्त्र पार्टीलाई फाइदा हुने निष्कर्ष निकालेका हुन् ।
३९ जिल्लाका नेता–कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रियापछि महामन्त्री ढकालले यस्तो बताएका हुन् ।
पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरू सँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने उनको निचोड छ। ३९ जिल्लाका कार्यकर्तासँगको छलफलपछि तयार प्रतिवेदन बुधबार साँझ सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गर्दैछन् ।
महामन्त्री ढकालले २०८४ को निर्वाचनभन्दा पहिला नै काठमाडौंका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपी हमालसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख गरेका छन्।
स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको मेयर जितेका हर्क साम्पाङबारे भने महामन्त्री ढकालको प्रतिवेदन मौन छ।
‘समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो। बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि बालेन आफैको भनाइअनुसार उनी राजनीतिमा छैनन्। र उनी स्थानीय तहका प्रमुख हुन्। उनको विचारमा या गैरराजनीतिक पद हो,’ महामन्त्री ढकालको प्रतिवेदनमा उल्लेख छ।
मेयर बालेन राजनीतिमा आउँछन् वा आउँदैन् भन्ने अहिलेको प्रश्न रहेको उनले बताएका छन्। राजनीतिमा आए फरक दल खोलेर आउँछन् कि आउँदैनन् भन्ने चासो आमनागरिकमा रहेको पाइएको महामन्त्री ढकालको भनाइ छ।
‘बालेन राजनीतिमा आए स्थानीय तह गैरदलीय हुनुपर्छ भनेर बोकेको आफ्नो राजनीतिक एजेन्डा त्याग्छन् कि त्याग्दैनन्। २०८४ को स्थानीय तह चुनावमा स्वतन्त्रहरूको छुट्टै टोली बनाएर स्थानीय त गैरदलीय हुनुपर्छ भन्ने आफ्नो अभियानलाई अगाडि बढाउन सक्छन्। २०८९ चुनावताका मात्रै आफ्नो पार्टी खोल्ने सम्भावना छ,’ महामन्त्री ढकालको भनाइ छ।
मेयर बालेनसँगको सहकार्यको कुरा गरेर मात्र नपुग्ने उनी बताउँछन्। त्यसका लागि बालेनले उठाएका राजनीतिक एजेन्डामा पार्टी सहमत हुन्छ कि हुँदैन पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ छ।
‘हामी स्थानीय तहलाई गैरदलीय रूपमा अघि बढाउन तयार छौं कि छैनौं पनि महत्त्वपूर्ण छ। अराजनीतिकरणको मूल मुद्दा पार्टीको पनि भएकाले स्थानीय तह गैरदलीय हुनुपर्ने पार्टीको मूल मुद्दासँग मेल खान्छ,’ उनले भनेका छन्।
पछिल्ला दिनमा अराजनीतिकरणको मुद्दा पार्टीले बिर्सिएको सन्दर्भ पनि उल्लेख गरेका छन्। रास्वपाले पनि सानादेखि ठूलासम्म ठाउँमा कता न कता राजनीति सुरू गरिसकेको बताएका छन्।
‘हामी हाम्रो मूल मुद्दा अराजनीतिकरणमा फर्कने, स्वतन्त्र पार्टी स्वतन्त्रहरूको पार्टी बनाउने, स्थानीय निकाय गैरदलीय बनाउनेमा सहमत हुँदै स्थानीय तह गैरदलीय बनाउने र स्वतन्त्र पार्टी पनि स्थानीय तह चुनावमा भाग नलिने हिम्मतसहितको निर्णय गर्न सके बालेनसँगको सहकार्य त्यति पर छैन,’ उनले भने।
मेयर बालेनले उठाउँदै आएको बागमतीलगायत नदी किनारका अनधिकृत बस्ती हटाउने विषय सरकारमा भएकाबेला सहयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
सभापति रवि लामिछाने पहिलो पटक गृहमन्त्री भएका बेला पनि मेयर बालेनले बागमती लगायत नदी किनारका बस्ती हटाउने विषयमा छलफल भएको थियो। तर त्यतिबेला ठोस छलफल भने भएन।
अहिले सरकारमा भएका बेला बालेनलाई नदी तटका बस्ती हटाउन सहयोग गर्नुपर्ने उनले बताएका छन्।
‘त्यसो गर्ने हो भने बालेनसँगको सहकार्यको बाटो खोल्न सकिन्छ। बालेन, गोपी हमाल र हामी मिल्न सक्ने हो भने २०८४ मा स्पष्ट बहुमतको संकेत छ र यो मिलन २०८३ तिर मात्र हुँदा पुरानाले हामीविरूद्ध त्यति धेरै खेल्न सक्दैनन्। तर माहौल अहिलेबाटै बनाउन जरुरी छ,’ उनले भनेका छन्।
बालेनसँग दूरी बढाएर अघि बढ्दा त्यसले पार्टीलाई थप क्षति मात्रै गर्ने उनले बताएका छन्।
‘आजको दिनमा ओली र प्रचण्डसँग सम्झौता गर्नको सट्टा मेयर बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनु हाम्रो लागि हितकर छ,’ महामन्त्री ढकालले प्रतिवेदनमा उल्लेख गरेका छन्।


प्रतिक्रिया